देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा बिहानैबाट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी, मधेस, गण्डकी र वाग्मती बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मकवानपुरको मार्खुमा अहिले भारी वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले छ । मधेस प्रदेश लगायत कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ ।
‘काठमाडौंमा आज वर्षाको सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘काठमाडौंमा बिहान वर्षा नभए पनि दिउँसो वर्षा हुनेछ ।’ महाशाखाले राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।
बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
सत्यपाटी