सूचनाको शक्ति - The Power Of Information

        

यार्सा संकलनका लागि मुगुबासी पाटनतिर

जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि याम सुरु भएको छ । यार्सा संकलन समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो ।

गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा संकलनका लागि आउने गर्दछन् । जिल्लावासीका लागि प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि तीन हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ ।

जेठ १३ गते वन प्रवेश खुला गरिने भएकाले वन प्रवेशपछि यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न संकलनकर्तालाई गाउँपालिकाकाले आग्रह गरेको छ । यार्सा संकलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउँछन् ।

गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कु लगायतका दुई दर्जन बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ । वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका संकलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन् ।

विकट उच्च हिमाली भू–भाग सुरक्षामा चुनौती

मुगुम कामारोङ अन्तर्गत पर्ने पाटन क्षेत्रमा सुुरक्षा चुनौतीले अनुमति नलिइ यार्सागुम्बा संकलन गर्न वन प्रवेश गरिसकेका छन् । गाउँपालिकाको निर्णयअनुसार जेठ १३ गतेपछि मात्र यार्सा संकलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्ने वन प्रवेश गरिसकेका छन् ।

सुुरक्षा चुुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा संकलन समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन् । गाउँपालिकाका स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा संकलक रातारात पाटन प्रवेश गरी यार्सा संकलनमा लागेका छन् ।

अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लंघन गर्नेमाथि कडा जरिवाना र कानूनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष यार्सा संकलनमार्फत गाउँपालिकाले ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यस वर्ष त्योभन्दा बढी ८० लाख रुपैयाँसम्म राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।यार्सा संकलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ ।

पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कमहुँदै गएको स्थानीयको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार ०७:४८