सूचनाको शक्ति - The Power Of Information

        

आज कहाँ-कहाँ छ वर्षा र हावाहुरीको सम्भावना ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार ०५:५०