युद्धरत रुस र युक्रेन एक–एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएका छन् । दुवै पक्षले युद्धबन्दीहरूको रिहाइको लागि मिति तय गरे पनि सार्वजनिक भने गरेका छैनन् ।
जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुलमा भएको वार्तामा दुवैले एक–एक हजार बन्दी रिहा गर्ने सहमति भएको युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले जानकारी दिएको बीबीसीले जनाएको छ ।
‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्यौं । एक हजार मानिसहरूको रिहाइको सम्झौता हाम्रो बैठकको परिणाम हो,’ उनले भने । शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरे।
उनले भने, ‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ। हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौं ।’ मेन्डिन्स्कीले प्रत्येक पक्षले सम्भावित भविष्यको युद्धविरामबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने बताए ।
टर्कीमा युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको बैठकपछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि दबाब कायम राख्नुपर्ने बताएका छन् । जेलेन्स्कीले भने, ‘रूस युद्ध अन्त्य गर्न तयार नभएसम्म रूसमाथि दबाब कायम राख्नुपर्छ । युक्रेन सकेसम्म चाँडो वास्तविक शान्तिको लागि कदम चाल्न तयार छ । विश्वले बलियो अडान कायम राख्नु महत्त्वपूर्ण छ ।’

यसअघि जेलेन्स्की र पुटिन शान्ति वार्तामा सामेल हुनेबारे वार्ता भएको थियो तर, दुवैले भाग लिएनन् । १९४५ पछि युरोपको सबैभन्दा घातक युद्ध तीन वर्षभन्दा बढी समय बित्दा शुक्रबार कूटनीतिको लागि एउटा सानो कदम अगाडि बढेको विश्लेषण भैरहेको छ । युक्रेन र रूसका प्रतिनिधिमण्डलहरू मार्च २०२२ पछि पहिलो पटक वार्ताका लागि आमनेसामने आएका हुन् ।
टर्की र अमेरिकाको दबाब र प्रोत्साहनले युद्धरत पक्षहरूलाई वार्तामा ल्याउन मद्दत गरेको हो । टर्कीका विदेशमन्त्री, हाकान फिदानले प्रतिनिधिमण्डलहरूलाई भने कि अगाडि दुई बाटोहरू छन्, एउटा बाटो शान्तिमा जान्छ र अर्कोले थप मृत्यु र विनाशमा जान्छ । वार्ता दुई घण्टाभन्दा कम समयसम्म चल्यो र चाँडै नै तीव्र विभाजन देखा परेको बीबीसीले जनाएको छ ।
एक युक्रेनी अधिकारीका अनुसार क्रेमलिनले नयाँ र अस्वीकार्य मागहरू राखेको थियो । त्यसमा युद्धविरामको बदलामा कीभलाई आफ्नै क्षेत्रको ठूलो भागबाट आफ्ना सेना फिर्ता गर्न जोड दिनु समावेश थियो । युद्धविरामको महत्वपूर्ण मुद्दामा कुनै सफलता नभए पनि अपेक्षा गरिएअनुसार एउटा ठोस परिणाम भने आएको छ । दुवै पक्षले एक हजार युद्धबन्दीलाई फिर्ता गर्नेछ ।
युक्रेनका रक्षामन्त्री रुस्तेम उमरोभले अर्को चरण जेलेन्स्की र पुटिन बीचको बैठक हुनुपर्ने बताए । रूसी प्रतिनिधिमण्डलका प्रमुख, राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीका अनुसार त्यो अनुरोध नोट गरिएको थियो । उनले भने, ‘रूसी प्रतिनिधिमण्डल वार्ताबाट सन्तुष्ट छ र सम्पर्कहरू जारी राख्न तयार छ ।’
यसअघि यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने भनिएको थियो तर अन्तिम समयमा उनीहरु उपस्थित भएनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीच युद्ध रोकिने आशा जगाएको थियो । सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । पछिल्लो ३ वर्षमा रुस–युक्रेन युद्धमा हजारौं सेना र सर्वसाधारण मारिएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं