बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन अनुसार बाँकेको आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको सबैभन्दा कम १.५० प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको छ ।
सो पालिकाको बेरुजु ३.३४ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । सोही प्रकारले कोहलपुर नगरपालिकाको बेरुजु १.६६ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाको २.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको २.२९ प्रतिशत, डुडुवा गाउँ पालिकाको २.७२ प्रतिशत, जानकी गाउँपालिकाको २.८६ प्रतिशत र नरैनापुर गाउँपालिकाको ३.०२ प्रतिशत बेरुजु रहेको महालेखाको लेखापरीक्षण प्रतिवेदनमा जनाइएको छ ।
बाँकेमा सबैभन्दा कम बेरुजु खजुरा र सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । खजुुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जिल्लामा सबैभन्दा कम बेरुजु देखिएकोमा सन्तोष प्रकट गर्दै आगामी आर्थिक वर्षमा बेरुजुलाई शुन्यमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए । उनले सबैको सहयोगमा बेरुजुलाई शून्यमा पुर्याएर छाडिने प्रतिबद्धता पनि जनाए ।
यस्तै खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदीप सुनारले बेरुजुलाई सुन्यमा झारेर बेरुजुरहित पालिका बनाउने अभियानमा आफुहरू प्रतिबद्ध भएर लागेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जनप्रतिनिधिहरूको सहयोगका कारण जिल्लामै सबैभन्दा कम बेरुजु देखाउन सफल भएको जनाउँदै आगामी आर्थिक वर्षमा झन घटाएर शुन्यमा झार्ने लक्ष्य रहेको बताए ।
सत्यपाटी संवाददाता । बाँके