तातोपानी भन्सार नाकाबाट आउने चिनियाँ सामानको ढुवानी गर्ने सिन्डिकेट चलाउँदै आएको सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाको कम्पनीमा आन्तरिक राजस्व कार्यालय पुतली सडकले कराडौं आयकर छलीको आरोपमा छापा मारेको थियो ।
सिल्क ट्रान्सपोर्ट करिब ५० करोड करछलीको आशंकामा छापा मारिएको भए पनि पछिल्ला दिनमा सेटिङमा मिलाइएको स्रोत बताउँछ । आन्तरिक राजस्व कार्यालय पुतली सडकका प्रमुख नरेन्द्रप्रकाश पाण्डेले सिल्क ट्रान्सपोर्टसँग ठूलो आर्थिक लेनदेन गरी उन्मुक्ति दिएको आरोप छ ।
गृहमन्त्री रमेश लेखकका साढुभाइ नरेन्द्र पाण्डेले उन्मुक्ति दिएका रमेश शेर्पाले चीनबाट सामान ढुवानी अति सस्तो दरमा गर्ने र कन्टेनरभित्र भेप तस्करी गर्ने गरेको आरोप छ । गृहमन्त्रीका साढुभाइ नरेन्द्र पाण्डे राजस्व समूहमा सधैं तर मार्ने आकर्षक पद पाउनेमा पर्दछन् ।
२०७३ मा पाण्डे अर्थमन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान कार्यालय बुटवलको प्रमुख हुँदा कृष्णनगर भन्सार कार्यालयको प्रमुख थिए गृहमन्त्री लेखककै आफन्त बिन्देश्वर लेखक । कृष्णनगर भन्सारबाट प्रज्ञापनपत्रविना नै मालवाहक गाडी छाड्ने, बुटवल राजस्वले आँखा चिम्लेर दैनिक बीसौं लाख रुपैयाँ तस्करहरुबाट असुली गर्ने गरेका थिए ।
तर २०७४ मा केपी ओली प्रधानमन्त्री हुनासाथ त्यो ब्रम्हलुट रोक्न लेखक र पाण्डे तानिएका थिए । देउवा २०७८ मा पुनः प्रधानमन्त्री भएपछि पाण्डेलाई मासिक २० लाख रुपैयाँ सुविधा पाउने विश्वबैंकको कन्ट्री डाइरेक्टरमा पठाएका थिए ।
विज्ञता भएका सहसचिव कृष्ण नेपाललाई तीन महिनामै फिर्ता बोलाई अन्तर्राष्ट्रिय सहायता महाशाखामा काम गरेको अनुभवै नभएका उपसचिव पाण्डेलाई पठाइएको थियो ।
अमेरिकाबाट फर्किएपछि अख्तियारमा एक बर्ष पनि नबसी पाण्डेलाई पुनः अर्को आकर्षक कर कार्यालय पुतलीसडकमा पठाइयो । विश्व बैंकमा जानुअघि पाण्डे करदाता कार्यालय नयाँ बानेश्वरको प्रमुख समेत भइसकेका हुन् ।
को हुन् रमेश शेर्पा ?
कोरोनाकालमा शेर्पाले प्रहरी र सशस्त्र प्रहरीको स्कर्टिङमा अत्यावश्यक सामान ल्याएको भन्दै कन्टेनरमा सुन ल्याएको समाचार नै सार्वजनिक भएको थियो । गएको पुस २३ गते राजस्व अनुसन्धान बिभागले इमाडोलको एक गोदामबाट बरामद गरेको करिब ५० करोड रुपैयाँ बराबरको ५०० कार्टुन भेपसमेत रमेश शेर्पा र पवनकुमार साहको भए पनि उनीहरुलाई छानबिनको दायरामा नल्याई मजदुरलाई मुद्दा चलाएर उन्मुक्ति दिइएको छ ।
कांग्रेस नेता मोहनबहादुर बस्नेतहरुको दबाबमा शेर्पा र साहलाई जोगाइयो । तातोपानी भन्सार कार्यालयको गोदामबाट हालै ३६ कार्टुन भेप चोरी पनि उनै शेर्पाले गराएको भए पनि निरीह सुरक्षागार्ड, अपरेटर र स्थानीयलाई पक्राउ गरी उनलाई जोगाइएको छ । इन्टरमोडल यातायात विकास समितिले तातोपानी सुख्खा बन्दरगाह ब्यवस्थापनको जिम्मा २०७९ भदौ ३१ गतेदेखि ट्रान्स सिल्क टर्मिनललाई दिएको छ ।
रमेश शेर्पा पनि आवद्ध रहेको ट्रान्स सिल्कलाई गोदामको जिम्मा दिइएको र उनकै मिलेमतोमा भेप चोरी भए पनि भन्सार प्रमुख कमलकुमार भट्टराईलाई तानी यो प्रकरणको पटाक्षेप गर्न लागिएको छ । भन्सारको गोदाम नै तस्करलाई दिएका कारण भेप चोरी भएपछि शेर्पालाई छानबिन नगर्नुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
रमेशका बाबु बाह्रबीसेका सामान्य ह्यान्डीक्राफ्ट ब्यवसायी थिए । तर रमेशले सुन, भेप, हुन्डी लगायत बैध–अवैध धन्दाकै कारण दिन दुई गुणा रात चौगुणाका दरले बृद्धि भएर रमेश अहिले अर्बपति भइसकेका छन् । कुनै समय हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाएका थिए ।
जेलबाट छुटेलगत्तै उनी बेलायत पुगेका थिए । चीनबाट भारत सुन तस्करी गर्ने आरोप खेप्दै आएका रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको स्रोत बताउँछ । नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको थियो । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको सुरक्षा स्रोत बताउँछ ।
पटक पटक भारत सुन सप्लाई गर्दै आएका शेर्पाका भिनाजु बिजय शेर्पा १६ किलो सुनसहित भारतमा पक्राउ परेका थिए । उता नेपालमा भिनाजुका दाइ पर्ने साइँला भनेर चिनिने व्यक्ति समेत ६ किलो सुनसहित समातिएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं