सूचनाको शक्ति - The Power Of Information

        

भारत-पाकिस्तानबीच आज वार्ता, युद्धविरामपछि विवाद समाधानको प्रयास

भारत र पाकिस्तानबीच आज वार्ता हुने भएको छ । दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि युद्धमा होमिएका यी दुई देशले शनिबार पूर्ण युद्धविराम घोषणा गरेका थिए । तनावकै बीच युद्धविराम गरी वार्तामार्फत विवाद समाधान गर्ने लक्ष्यसहित आज वार्ताको तयारी भएको हो ।

भारतको विदेश मन्त्रालयका अनुसार, सोमबार मध्याह्न १२ बजे दुवै देशका सैन्य उच्चाधिकारीसहित वार्ता हुनेछ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्नेछन् । जम्मु काश्मीरको स्वामित्वलाई लिएर लामो समयदेखि भारत र पाकिस्तानबीच तनाव कायम छ ।

यसपटक युद्धमै उत्रिएका दुई देशलाई मानवीय क्षति रोक्न विभिन्न देशले वार्ताबाट समाधान खोज्न आग्रह गरेका थिए । नेपालले पनि दुवै देशलाई वार्तामार्फत अघि बढ्न अपिल गरेको थियो । अमेरिकाले तत्काल युद्धविराम गरी वार्ताबाट विवाद सुल्झाउन सुझाएको थियो र आवश्यक परे जम्मु काश्मीर विवादमा मध्यस्थता गर्न तयार रहेको जनाएको छ ।

शनिबारको युद्धविरामपछि दुवै देशले आक्रमण र प्रत्याक्रमण रोकेका छन् । वार्ताका एजेन्डाबारे दुवै देशका सरकार र सैन्य अधिकारी तयारीमा जुटेका छन् । भारतले वार्तामा आतंकवादलाई प्रश्रय नदिने प्रतिबद्धता पाकिस्तानबाट लिने प्रयास गर्ने र पाकिस्तानले आतंकवादको नाममा आफ्ना नागरिकमाथि जथाभावी आक्रमण नहोस् भन्ने प्रतिबद्धता खोज्ने कूटनीतिज्ञहरूको अनुमान छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार ०७:२७