पछिल्लो समय भएको शिक्षक आन्दोलनको असर सामुदायिक विद्यालयमा देखिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको पाइएको छ । नयाँ शैक्षिक सत्र २०८२ मा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या झण्डै ५० प्रतिशतले घटेको पाइएको छ ।
एक महिना लामो शिक्षक आन्दोलनपछि खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या नै साह्रै न्यून रहेको स्वयम् सामुदायिक विद्यालयका शिक्षकहरु स्वीकार्छन् । शिक्षकहरुका अनुसार गत वर्षको तुलनामा यो वर्ष सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या आधा कम छ ।
केही विद्यार्थी पढाईका लागि शहर हिँडेको र अधिकांश विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा र केहीले पढाई नै छोडेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको हो । यसो त सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्नुको मुख्य कारण शिक्षक आन्दोलन भएको अभिभावकहरु बताउँछन् ।
धमाधाम विद्यार्थी भर्ना गर्नुपर्ने बेलामा शिक्षकहरु आन्दोलन गर्न राजधानी हिँडेपछि धेरै विद्यार्थी निजी विद्यालयमा भर्ना भएको अभिभावकको भनाई छ । गत वर्षहरूमा विद्यार्थीको चाप धेरै हुने भएकाले दुईदेखि तीन चरणसम्म प्रवेश परीक्षा सञ्चालन गरे पनि विद्यार्थी संख्या घटेको छ ।
‘भर्ना गर्ने बेलामै शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलन गर्न हिँडे । अब छोराछोरीको भविष्य त अन्योल पार्नु भएन नी, होइन ?’, अभिभावकले भने, ‘त्यही भएर निजी विद्यालयमा भर्ना गरियो । धेरैले यो वर्ष आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गरेका छन् ।’
गत चैत २० गतेदेखि देशभरिका शिक्षकहरूले विभिन्न माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । यस आन्दोलनका कारण नयाँ शैक्षिक वर्ष, भर्ना अभियान, एसइईको नतिजा र कक्षा १२ को परीक्षा प्रभावित भएको थियो ।
शिक्षक आन्दोलनबाट शिक्षकहरु फर्किएर विद्यालयमा पठनपाठन सुरु भए पनि विद्यार्थी संख्या साह्रै कम हुँदा शिक्षकहरु तनावमा परेका छन् । यता विद्यार्थी संख्या बढेपछि निजी विद्यालयका सञ्चालक र शिक्षकहरु भने खुसी भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके