सूचनाको शक्ति - The Power Of Information

        

वन्यजन्तुका लागि बन्यो कृत्रिम पोखरी

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुइस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ । गर्मी समय सुरु भएसँगै वन क्षेत्रका पानीका मूलसमेत सुक्न गई खोला, तालहरु सुक्ने र वनमा रहने वन्यजन्तुलाई पानी पिउन समस्या हुने भएकाले समाधानका लागि पोखरी निर्माण गरिएको हो ।

डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले इलम परियोजनाको प्राविधिक सहयोगमा डिभिजन वन कार्यालयले अशोक सामुदायिक वनमा मानव निर्मित पोखरी निर्माण गरिएको बताए । उनले गर्मीयाम सुरु भएसँगै वनमा पानीको मूलहरू सुक्ने, खोला, नाला तालहरू सुक्ने र वन्यजन्तुलाई पिउने पानीको समस्या हुने भएकाले वन्यजन्तुलाई सहज रूपमा पानी पिउने व्यवस्थाका साथ पोखरी निर्माण गरिएको बताए ।

अशोक सामुदायिव वन उपभोक्ता समूहका अध्यक्ष भगानुसिंह थारूले डिभिजन वन कार्यालय र इलम परियोजनाले सामुदायिक वन क्षेत्रभित्र वन्यजन्तुलाई पानी पिउनका लागि पोखरी निर्माण गरिएको बताए । सामुदायिक वनमा योसँगै दुई वटा कृत्रिम पोखरी भएको उनले जानकारी दिए । ‘दुई वर्षअघि हामीले वन्यजन्तुका लािग वनमा एउटा पोखरी बनाएका थियौँ, अब यो नयाँ अर्को बनेको छ, योसँगै हाम्रो सामुदायिक वनमा दुई वटा पोखरी भयो, अब गर्मीयाममा वन्यजन्तुलाई पानीको समस्या समाधान हुने भएको छ,’ अध्यक्ष थारूले भने ।

सिक्टा सिँचाइको पश्चिमी नहरनजिक रहेको उक्त सामुदायिक वनमा बनेको पोखरीका लागि सोही नहरबाट पम्पसेटले पानी तानेर लगिएको उनले जानकारी दिए । थारुका अनुसार नहरदेखि पोखरी ४५० मिटर टाढाको दूरीमा रहेको छ । नहरमा पानी पिउन जाँदा कैयौँ जनावर डुबेर मर्ने गरेका कारण पोखरी बनेपछि पानी पिउन सहज हुने उनले बताए ।

एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम)का फिल्ड प्रवन्धक प्रकाश थापाले इलमको आर्थिक सहयोगमा डिभिजन वन कार्यालयमार्फत् उक्त सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण गरिएको बताए । उनले इलमको पाँच लाख तीन हजार रुपैयाँ र समूहको ५६ हजार रुपैयाँ बराबरको जन श्रमदान गरी कुल ५ लाख ५९ हजार रुपैयाँको लागतमा पोखरी निर्माण भएको जानकारी दिए ।

विगत लामो समयदेखि वन, निकुञ्ज तथा वन र निकुञ्ज नजिकका वन क्षेत्रमा रहेका समुदाय तथा जैविक मार्गको संरक्षण लगायतका क्षेत्रमा काम गर्दैआएको इलमले बाँकेका विभिन्न सामुदायिक वनहरूमा कृत्रिम पोखरी निर्माण गरी वन्यजन्तुका लागि पानी पिउने व्यवस्था गरिँदैआएको फिल्ड प्रवन्धक थापाको भनाइ छ ।

अत्यधिक गर्मीका कारण पानीका मुहान सुक्दै गएकाबेला मानवनिर्मित पोखरीले वन्यजन्तुका लागि अत्यन्तै प्रभावकारी देखिएको छ । पोखरी निर्माणले गर्दा वन्यजन्तुको आहार व्यवस्थापनका साथै सुरक्षासमेत बढ्ने अपेक्षा छ । कृत्रिम पोखरी नहुँदा वन्यजन्तु पानी खोज्दै मानव बस्तीतर्फ जाँदा हुनसक्ने मानव र वन्यजन्तुबिचको द्वन्द्व पनि नहुुने भएकाले गर्मीयाममा कृत्रिम पोखरी प्रभावकारी देखिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतवार ०९:१०

लोकप्रिय