भनिन्छ पढ्न र सिक्नलाई उमेरले छेक्दैन । जाँगर र जोस भए आँटेको जस्तो पनि काम गर्न सकिन्छ । बाँके खजुरा–२, सैनिकका मगर समुदायका ३० वर्षदेखि ६० वर्षसम्मका महिला यतिबेला गाउँमा नौमती र पन्चैबाजा सिकेर यसको संरक्षणसहित व्यावसायिकतातर्फ उन्मुख हुन थालेका छन् ।
लायन्स क्लबको आर्थिक सहयोगमा उनीहरूले पन्चैबाजा सिकेर व्यावसायिक रूप दिन थालेका हुन् । बाँके खजुरा–२, सैनिककी ६० वर्षीय देवीसरा थापामगरको दैनिकी आजभोलि फेरिएको छ । बिहानको खाना खाएर उनी नरसिङ्गा बाजा बोकेर सामुदायिक भवन पुग्छिन्, जहाँ पन्चैबाजा बजाउन सिकाइन्छ ।
देवीसराले भनिन्, ‘पछिल्लो पुस्तालाई प्रेरणा दिनका लागि उमेरको प्रवाह नगरी नरसिङ्गा बाजा फुक्न थालेकी छु, सासले अलि पुग्दैन, तर पनि फुक्न छाडेकी छैन ।’ खजुरा–२ कै ४५ वर्षीय नैनाकुमारी मगरले दमाहा बजाउन सिकेकी छन् । घरपरिवारले नगर, सक्दैनौ भन्दाभन्दै सिक्नका लागि आएर छोटो समयमा बजाउन सक्ने भएपछि घरबाट पनि सहयोग र समर्थन पाएको उनको भनाइ छ ।
खजुरा–२ कै ४६ वर्षीय कुमारी थापामगरलाई यो उमेरमा के गर्न सकिएला जस्तो लागेको थियो तर सिक्न थालेपछि दमाहा र ढोलकी बजाउन र सँगीलाई सिकाउन पनि सक्ने भएको बताइन् । पहिलो दिनमा खोइ के गर्नुहोला र भन्ने लागेको थियो तर उनीहरूको मेहनत र लगनले छोटो समयमै बाजाको लय समात्न सक्ने भएको नौमती–पन्चैबाजा प्रशिक्षक विष्णुको भनाइ छ ।
लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायक, युनिटी र युथको आर्थिक सहयोगमा पोखरादेखि प्रशिक्षक झिकाएर लायन्स विकास कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिममा दुई पुरुष, १६ महिलासहित १८ जनाले गत चैत १३ गतेदेखि नेपाली मौलिक बाजा बजाउन सिकिरहेका छन् ।
सत्यपाटी संवाददाता । बाँके