सूचनाको शक्ति - The Power Of Information

        

भारतले गर्‍यो पाकिस्तानमाथि हवाई हमला

भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके)मा रहेका नौवटा आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । भारतीय सेनाले बुधबार राति करिब १ः३० बजे ‘अपरेशन सिन्दूर’ नामक विशेष कारबाही अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा लक्षित आक्रमण गरेको हो ।

सैन्य स्रोतहरूका अनुसार, यिनै स्थानहरूबाट भारतमा भएका विभिन्न आतङ्कवादी आक्रमणहरूको योजना बनाइएको थियो र ती योजना यहींबाट कार्यान्वयन गरिएको थियो । भारतको रक्षा मन्त्रालयले औपचारिक रूपमा प्रतिक्रिया नजनाए पनि भारतीय सञ्चारमाध्यम दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टको हवाला दिँदै बहावलपुरस्थित एक आतङ्कवादी शिविरमा कम्तीमा ३० जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

पाकिस्तानी सेनाको सञ्चार निकाय इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । उनले घटनालाई ‘गम्भीर उक्साहट’को संज्ञा दिँदै पाकिस्तान आवश्यक सुरक्षा जवाफका लागि तयार रहेको बताएका छन् । यस घटनाले भारत–पाकिस्तान सम्बन्धमा पुनः तनाब चुलिने संकेत देखिएको छ ।

भारतले पहलगाममा भएको आक्रमणपछि प्रतिशोधस्वरूप कारबाही गरेको बुझिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहँदा दुवै देशबीचको बढ्दो सैन्य गतिविधिले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता थप्न सक्ने विश्लेषण गरिएको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।

यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ । भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।’

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् र बलियो जवाफ दिने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ०७:०८

लोकप्रिय