सूचनाको शक्ति - The Power Of Information

        

हल्का वर्षामै अस्तव्यस्त दाउन्ने, बढ्यो दुर्घटनाको जोखिम

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक सामान्य वर्षाले समेत अवरुद्ध बन्न थालेपछि यात्रुहरू आजित बनेका छन् । वर्षासँगै सडक चिप्लो र हिलाम्य बन्ने भएकाले सवारीसाधन चिप्लिएर दुर्घटनाको जोखिम बढेको छ भने घण्टौँसम्मको जामले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिन भइरहेको छ ।

दाउन्ने सडक खण्डमा घण्टौँ जाममा पर्ने बाध्यताका कारण सवारीसाधन चलाउने चालकहरूलाई सामान्यजस्तै भएको छ । सैनामैना–४, रूपन्देहीका ३९ वर्षीय सुदीप सुनारले भने, ‘चार–पाँच घण्टा त सामान्य भइसक्यो, अलि अलि पानी पर्यो कि यहाँ १० घण्टाजस्तो जाम भइहाल्छ ।’

मंगलबार बिहान काठमाडौंको यात्राका क्रममा भेटिएका सुनारले भने, ‘आज त बिहान पानी पर्ला जस्तो थिएन । सुनवल आउँदा ९ बजे हल्का पानी पर्यो । पानी पर्यो भनेपछि दाउन्नेकै डर लाग्छ, दाउन्ने कति बेला पुगिन्छ ? कति जाममा बस्नुपर्छ र कति बेला दाउन्ने पार गरिएला ? भन्ने चिन्ता नै चिन्ताले सताउँछ ।’

दाउन्ने सडक खण्डको नवलपरासी बर्दघाट सुस्तापूर्व अन्तर्गत पर्ने विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा मन्दिर र पैँसठ्ठी मोडमा सडक अत्यधिक हिलाम्य भएपछि मंगलबार सवारी सञ्चालनमा पूर्णरूपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान परेको पानीले सडक हिलाम्मे भएको र सवारी साधनको टायर नै चिप्लिएकाले सडक अवरुद्ध भएको हो ।

पूर्वी नवलपरासीतर्फ अरुणखोला र पश्चिमतर्फ बर्दघाटदेखि नै सवारी सञ्चालनमा अवरोध हुँदा हजारौँ यात्रुहरूको यात्रा नै अन्योल भएको थियो । दाउन्ने सडक अवरुद्ध हुँदा चालकलाई मात्रै होइन सवारीलाई समेत दाउन्नेकै चिन्ता छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने दाउन्ने सडकले यात्रुलाई समेत निकै सास्ती दिएको छ ।

दाउन्ने सडक खण्डमा जाममा परेका ५३ वर्षीय अशोक चौधरी औषधि गर्न काठमाडौं हिँडेको बताउँदै भन्छन्, ‘डाक्टरले मंगलबार साँझ ६ बजे अस्पतालमा बोलाएको थियो । अहिले बिहान ११ बजेसम्म जाममै छु । कति बेला काठमाडौं पुग्ने हो अत्तोपत्तो छैन । दाउन्नेबाट काठमाडौं पुग्नै करिब ६ घण्टा लाग्छ । काठमाडौं जाने कि दाउन्नेबाटै फर्किने अन्योलमा छु ।’

‘काठमाडौं जाऊँ भने डाक्टरले बोलाएको समयमा पुगिने भइएन भोलि डाक्टर भेटिन्छ कि भेटिँदैन ?’ प्रश्न गर्दै चौधरीले भने । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकाल उकालो र ओरालोमा सवारीसाधन चिप्लिने जोखिम अत्यधिक भएकाले नियमित सञ्चालन असम्भव जस्तै भएको बताउँछन् ।

दाउन्ने सडकखण्डमा सडक अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनसमेत चुनौती पूर्ण देखिएको उनको भनाइ छ । सम्झौता भएको सात वर्ष पूरा हुन लागेको छ भने पटक–पटक म्याद थप भएको छ । सम्झौता पहिले नै भएको हो । सम्पन्न पनि हुनुपर्ने हो तर सम्झौता भयो सम्झौताअनुसार काम भएन । काम नहुँदा सडक अन्यौलमा नै भएको छ ।

सडक कहिले बन्छ भन्ने अहिले सामान्य पानी मा त सडक हो हालत यस्तो छ, वर्षामा कस्तो होला कसरी यात्रा गर्ने होला ? आम यात्रुको प्रश्न छ । सडक मर्मतका लागि भन्दै राति ६ घण्टा बन्द गरेर सडक विस्तार कार्य भइरहेको दाउन्ने सडकबारे आयोजनाको पश्चिम खण्डका प्रमुख शशांक मिश्र बताउँछन् ।

उनी भन्छन्, ‘आगामी असारसम्म धेरैजसो काम सक्ने लक्ष्यसहित निर्माण अघि बढिरहेको छ । पछिल्लो समय तीव्र गतिमा सडक मर्मतको काम भएको छ ।’ यद्यपि, दैनिकजसो सडक अवरुद्ध हुने गरेको र जाममा फस्दा यात्रुले सास्ती भोग्नुपरेको छ । बर्दघाटका व्यवसायी नरेन्द्र पन्थी भन्छन्, ‘घण्टौँ जाममा फस्दा यात्राको तीतो अनुभव लिनुपर्छ, व्यवसाय पनि प्रभावित भइरहेको छ ।’

किनमेल गर्ने यात्रुले समेत यात्राको कारण किनमेल कम गरेका छन् । सडक अवरुद्धका कारण के कति खर्च हुन्छ भन्ने विषय नै निश्चित नभएकाले यात्रुहरूले किनमेल नगरेको व्यवसायीहरूको गुनासो छ । हाल सडक निर्माणमा केही गति देखिए पनि मनसुन सुरु भएसँगै निर्माण कार्य फेरि प्रभावित हुने देखिएको छ । स्थानीयवासी तथा यात्रुहरूलाई झरी सुरु भएपछि लामो समयसम्म यातायात अवरुद्ध हुनसक्ने चिन्ता थपिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ०७:०२

लोकप्रिय