सूचनाको शक्ति - The Power Of Information

        

मकालु हिमाल आरोहण गर्ने क्रममा अमेरिकी नागरिकको मृत्यु

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिका अन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनको आइतबार राति मृत्यु भएको हो ।

मृतक एलेक्स हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए । तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फर्किएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मृतक एलेक्स अन्य तीन विदेशी र चार जना नेपाली नागरिकसहित मकालु हिमाल आरोहणका लागि २७ अप्रिलमा सोलुखुम्बु हुँदै सङ्खुवासभा भएका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यहाँ सँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ । यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ । मृतकको शव हेलिकप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै सोमबार नै प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार ०७:४८

लोकप्रिय