खोल्सा छेउको एउटा सानो बस्ती, झुत्रो त्रिपालले ढाकेका अस्तव्यस्त जीर्ण टहरा । होचो र साँघुरो टहरोभित्रको अवस्था उस्तै । धुवाँले काला भएका भित्ता र छानो, त्यही धुवाँभित्र असरल्ल छरिएका सामान । सानो टहरोलाई पनि जस्ताले बारेर दुई भाग लगाइएको छ । टहरोमा झ्याल छैन, जस्ताको पाताले बनेको एक खापा भएको ढोका पनि जीर्ण । यही टहरोभित्र यसै वर्ष एसइई दिएकी स्थानीय १६ वर्षीया अमृता विकले हजार सपना सजाइरहेकी छन् । बारपाक सुलीकोट गाउँपालिका–२ मा अवस्थित यो सानो झुप्रोभित्र उनीसहित सात जना ओत लागिरहेका छन् ।
‘के गर्नु हजुर यस्तै छ समस्या । धुवाँले यहाँका बस्तुमात्र कालाम्य भएका छैनन्, म र ससाना भाइबहिनीको भविष्य पनि अलमलमा छ । धुवाँ जाने ठाउँ छैन । बानी नहुने मान्छेहरू एकछिन् पनि बस्न सक्दैनन्,’ खाना बनाउँदै गरेकी अमृताले भनिन्, ‘हामी सात जनाले खाने, बस्ने, सुत्ने सबै यही ठाउँ हो । जति सफा गर्दा पनि हुँदैन, एकैछिनमा उस्तै फोहर भइहाल्छ ।’ विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प जाँदा उनी छ वर्षकी थिइन् । भूकम्पले उठिबास लगाएपछि बुबाआमाले झ्याउँकुटी पार्दै उनलाई यहाँ ल्याएका थिए ।
‘त्यो बेलाको भूकम्प राम्रोसँग याद छ । भूकम्पअघि हामी डाँडागाउँ, गैरीगाउँमा बस्थ्यौं । ढुंगामाटोले बनेको दुईतले घर थियो । आँगन पनि ढुंगाले छापेको थियो,’ विगत सम्झँदै अमृताले भनिन्, ‘एक्कासी भूकम्प आयो । हाम्रो घर माटोमै मिल्यो । घडेरी पनि पहिराको जोखिममा पर्यो । अनि यहाँ आएका हौं, त्यसयता यही त्रिपालमुनि बस्नु परेको छ ।’ सात जना परिवार एकै ठाउँ बस्नुपर्दा विभिन्न समस्या झेल्नुपरेको उनको गुनासो छ । ‘साह्रै सकस छ । हुर्केको दाजुभाइ, बाउआमा सबै एकैठाउँमा सुत्न, बस्न गाह्रो हुन्छ । कोही पाहुना आउँदा झनै गाह्रो,’ अमृताले सुस्केरा हाल्दै भनिन् ।
सबैभन्दा धेरै समस्या त महिनावारीका बेला हुन्छ । न प्याड फेर्ने ठाउँ छ न कपडा । शान्तसँग आराम गर्ने वातावरण पनि छैन । ‘महिनावारी हुँदा साँझमा वा एकाबिहानै तल बारीतिर गएर प्याड फेर्नुपर्छ । दिनभरचाहिँ सबैजना यहीँ भएकाले गाह्रो हुन्छ । दिउँसो एकछिन आराम गर्ने वातावरण पनि छैन,’, उनले पीडा सुनाइन् । यो समस्या अमृताको मात्रै होइन, यस बस्तीका हरेक किशोरीहरूको हो । केही समय अघिमात्र महिनावारी भएकी १२ वर्षीया आयुषा विक महिनावारीभन्दा पनि यहाँको वातावरणसँग त्रासित छन् ।
हिमालय माविमा कक्षा ५ मा अध्ययनरत उनलाई महिना–महिनामा भइरहने यस कुराले साह्रै पिरोल्छ । प्याड फेर्न साँझ वा एकाबिहानै बारीमा जानुपर्दा महिनावारीभन्दा बढी पीडा छ आयुषालाई । ‘धेरै रगत बग्छ, साँझमात्र लुकेर प्याड फेर्न जानुपर्छ,’ उनले सुनाइन्, ‘दिउँसो घरमा दाइ, भाइ, बाबा हुन्छन् । स्कुल जाँदाचाहिँ उतै फेरेर आउँछु ।’ यो बस्तीमा एउटा पनि व्यवस्थित शौचालय छैन । पानीको अभाव उस्तै छ । महिनावारीको समयमा शौचालय प्रयोग गर्दा र नुहाउँदा निकै समस्या झेल्नु यहाँका हरेक युवतीको नियती हो ।
‘शौचालय पनि भत्किने जस्तो छ, फोहर त्यस्तै । महिनावारीको समयमा शौचालय प्रयोग गर्न धेरै समस्या हुन्छ,’ १२ वर्षीया आयुषाले दुःखेसो पोखिन् । यहाँकी ३० वर्षीया दिपासा विकलाई सित्केरी भएको अठार महिनामात्रै पुगेको छ । भूकम्पले बिचल्लीमा परेकी उनको दिन यही बस्तीको अभावसँग जुध्दै बितिरहेको छ । ‘यहीँ जन्में, बिहे पनि गाउँमै गरें । भूकम्पले गर्दा आफ्नो व्यवस्थित घरबाट उठिबास भएर यस्तो झुपडीमा आउनुपर्यो । दुई नानीबाबु यही झुपडीमा जन्मिए । यहाँ भोको समस्या बयान गरेर साध्य छैन्,’ उनले भनिन् । गर्मीमा असाध्यै गर्मी अनि जाडोमा असाध्यै जाडो ।
यहाँका बालबालिका, ज्येष्ठ नागरिक, किशोरी र दिपासाजस्ता सुत्केरीहरूले भोग्नुपरेको साझा पीडा हो । सरकारी स्वामित्वमा रहेको यस बस्तीमा २१ घरधुरीका ५० भन्दा धेरै मानिस बसोबास गर्छन् । बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जोकोहीलाई त्यहीँमुनि खोल्साको छेउमा रहेको दलित बस्तीले गिँज्याइरहेको छ । विसं २०७२ वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरको भूकम्पले यहाँका एक हजार १०० घरधुरी क्षणभरमै ढले । गाउँमा ७२ जनाको मृत्यु भयो ।
बाँचेकाहरू पनि महिना दिनसम्म खुला आकाशमुनि बसे । पछि डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ दलित परिवार कृषि र पशु कार्यालयको स्वामित्वमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ परिवार फेरि आआफ्नै थातथलोमा फर्किए । डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिराले राङरुङ खोलासम्म पुग्यो । फर्किन सक्ने अवस्था नभएपछि ती परिवारले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । त्यो पहल १० वर्षसम्म पनि सफल भएको छैन ।
राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवासुविधा दिइन्छ तर भूकम्पको केन्द्रबिन्दु बारपाककै दलितबस्तीमा भने हालसम्म कसैले ध्यान दिन नसकेको गुनासो छ । त्यसैले भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दा पनि टहरोकै बास बस्नुपरेको छ । यहाँका अगुवा सुकबहादुर विक आफूहरूलाई बास माग्दै ८६ पटक सिंहदरबार धाए तर सुनुवाइ भएको छैन । ‘१० वर्षमा त जनयुद्ध पनि वारपार भएको थियो तर यो बस्तीलाई पुनःस्थापना गर्ने लडाईं १० वर्षसम्म पनि वारपार भएको छैन । एउटा पार्टीको सरकारले जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ काम रोकिन्छ । राजनीतिक कारणले नै २१ परिवारलाई दुःख दिने काम भइरहेको छ,’ उनको गुनासो छ ।
पूर्वसहमति अनुसार यहाँको छ रोपनी १० आना जग्गा २१ परिवारका नाममा गरिनुपर्ने अर्का अगुवा उत्तम विकको माग छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट भने जति प्रयास गर्दा पनि सो माग पूरा गर्न नसकिएको बताउँछन् । जग्गाको स्वामित्व हस्तान्तरणको काम नहुँदा अन्य व्यवस्थापकीय काम गर्न समस्या भएको उनको भनाइ छ । ‘जति प्रयास गर्दा पनि सफल भएका छैनौं । अब त वैकल्पिक दिनुपर्छ । यसरी समस्यामा पार्नु राम्रो होइन,’ अध्यक्ष भट्टले भने ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
प्रतिक्षा आले । गोरखा