२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday
स्वास्थ्य सन्देश

सञ्जीवनीसरह सितलचिनी

सितलचिनीको पातमा कार्बोहाइट्रेटका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ ।
सत्यपाटीसत्यपाटी । जनस्वास्थ्य तथा पोषणविद् । २०८२ वैशाख १९ गते शुक्रबार

यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन् । विज्ञका अनुसार सितलचिनी जस्तो गुण भएको बिरुवा अर्को पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन् ।

गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौं । सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔं भन्दैनौं । अंग्रेजीमा मोरिङ्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि ? यो वनस्पति तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ ।

तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका नामले चिनिन्छ, कतै सितलचिनी पनि भनिन्छ । यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि अनुसन्धान गर्दैछ । अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेटका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ । एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो । तर पौष्टिक उपहार नै अपहेलित छ ।

यसको कलिलो कोसा बजारमा बिक्री हुन्छ र तरकारी खाइन्छ । तर, अन्य भागमा यसको उपयोगिताबारे अझ कसैलाई जानकारी छैन । सितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ । यस्तो वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनुजस्तै हो । दक्षिण एसियामा पाइने यो वनस्पति हजारौं वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ ।

आयुर्वेदमा यो वनस्पतिले ३०० जति रोगको उपचार गर्छ भनिएको छ । यसलाई कतिले त जादुको रूख पनि भन्छन् । सायद यसको पौष्टिकता र औषधीय गुणका कारण अमेरिका र युरोपमा समेत यसको लोकप्रियता बढेकै छ । अफ्रिकाका केही देशमा पनि यसको प्रयोग गरिन्छ । यसलाई जादुको रूख भनिनुको कारण सायद यसमा धेरै प्रोटिन, गाजरमा भन्दा बढी भिटामिन ए, केरामा भन्दा बढी पोटासियम र दूधमा भन्दा बढी क्याल्सियम भएर हो कि ?

यसमा रोगसँग लड्ने शक्ति हुन्छ, आमाको दूध बढाउने तत्व हुन्छ भनेर आयुर्वेदमा लेखिएको छ । केही अनुसन्धानले यसको प्रयोगबाट उच्च रक्तचाप घट्न सक्ने सम्भावना देखाएको छ । यसैले अमेरिकामा त यसको क्याप्सुल र पाउडर नै बनाएर बेचिन्छ । भारतको बेंग्लोरमा गरिएको एक अनुसन्धान अनुसार कुपोषित बालबालिकालाई सितलचिनीको पाउडर खानासँगै खुवाउँदा उनीहरूको स्वास्थ्यमा धेरै सुधार भयो ।

प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार