कोरियन चाउचाउ ब्रान्ड ‘हाङकुक’ नेपालमा नै उत्पादन हुन थालेको छ । तीन वर्षभन्दा लामो प्रयासपछि नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधिबाट यो चाउचाउको व्यावसायिक उत्पादन सुरु गरिएको कम्पनीले बताएको छ । भैरहवास्थित हिमालयन म्यानुफ्याक्चरिङ कम्पनीद्वारा उत्पादित हाङकुक चाउचाउ आगामी साताबाट नेपाल, भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने तयारीमा रहेको कम्पनीका अध्यक्ष विनोद कुँवरले बताए ।
उनका अनुसार, कम्पनीले परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । खाद्य विभागको स्वीकृति, ब्रान्ड दर्तालगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेका छन् । ‘नेपालमै पहिलो पटक यस्तो गुणस्तरको चाउचाउ उत्पादन गर्न सफल भयौँ, जुन बजारमा आयातित प्रिमियम चाउचाउभन्दा उत्कृष्ट छ,’ अध्यक्ष कुँवरले बताए । चाउचाउ उद्योगमा ८० करोड रुपैयाँभन्दा बढीको लगानी गरिएको छ ।
हालको चरणमा उद्योगमा १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिसकेको । उत्पादन वृद्धिसँगै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । अहिले कोरियाबाटै पनि दक्ष जनशक्ति समेत झिकाएर उत्पादन गरिएको छ । नेपालमा उत्पादित हाङकुक भारतसहितका अन्य देशमा निर्यात गर्ने योजना कम्पनीले बनाएको कुँवरले बताए । पूर्णतः अन्तर्राष्ट्रिय गुणस्तरको यो चाउचाउको तौल १३० ग्राम रहेको छ ।
बजारमूल्य प्रतिप्याक १३० रुपैयाँ निर्धारण गरिएको छ । आयातित प्रिमियम चाउचाउहरू २२० रुपैयाँसम्ममा बिक्री हुँदै आएका बेला कम्पनीले सस्तोमै उपलब्ध गराउने भएको हो । यसले नेपाली बजारमा गुणस्तर र मूल्य दुवैको हिसाबले नयाँ विकल्प प्रदान गर्ने विश्वास कम्पनीको छ । कम्पनीले उत्पादनलाई अझ सुदृढ बनाउँदै लैजान उपभोक्ताबाट अमूल्य सुझावको अपेक्षा पनि गरेको छ ।
‘हामीले मातृभूमिप्रतिको जिम्मेवारी र उपभोक्ताको माया झन् गहिरो महसुस गरेका छौँ,’ अध्यक्ष कुँवरले भने, ‘हामी गुणस्तरमा कुनै सम्झौता नगरी बजारमा उत्कृष्ट उत्पादन ल्याउँदैछौं ।’ कोरियामा बस्दै आएका गैरआवासीय नेपाली कुँवरले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । उनले नेपालमा कोरियन मदिरा सोजु समेत उत्पादन गर्दै आएका छन् । उनी कोरियामा स्थापित व्यवसायी हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं