सूचनाको शक्ति - The Power Of Information

        

सरकारसँग वार्ता गर्दै, आन्दोलन चर्काउँदै शिक्षकहरु

आज २९ औं दिन पनि शिक्षकहरुले आन्दोलन जारी राख्ने भएका छन् । सरकारसँग लगातार छलफल र संवाद पनि चलिरहेपनि शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भएका हुन् । मंगलबार मध्यरातमा आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच वार्ता भएको थियो ।

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँगै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । यता महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थिए । झण्डै दुई घण्टा चलेको वार्ता सकारात्मक भएको भनिए पनि टुंगिएको भने छैन ।

आज सामाजिक सञ्जामार्फत महासङ्घकाबाट अध्यक्ष सुवेदीले सरकारसँग वार्ता चलिरहे पनि आन्दोलन भने जारी रहने बताएका छन् । ‘सरकार पक्षसँग लगातार छलफल र संवाद पनि चलिरहेको छ । संवादमा हुने साथीहरु डटेर मागमुद्दामा लडिरहनु भएको छ । उनले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ ।’

शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ । शान्तिपूर्वक तरिकाले आन्दोलन गरेर शिक्षा ऐनको माग गरिरहेका शिक्षकहरुले आइतबार निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरा हानेको थियो ।

त्यसैगरी लाठीचार्ज समेत गरेको थियो, जसबाट ६३ जना शिक्षक कर्मचारी र एक पत्रकार घाइते भएका थिए । शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दै ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा हान्ने अवस्था आएको थियो र एकाएक बानेश्वर क्षेत्र अशान्त बनेको थियो । तर त्यसपछि भने शान्तिपूर्वक नै आन्दोलन जारी छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार ०८:५५

लोकप्रिय