जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ । मंगलबार अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनाका २४ प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो ।
त्यस्तै, जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा जिल्ला अदालत रुकुम पश्चिमले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने उल्टाइएको छ । २०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो ।
प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज र उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिट गरेर गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
२०८० मंसिर १९ गते जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण गाउँलेले विकसहित ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गर्दै वडाअध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । जन्मकैदको सजायमा २५ वर्ष जेल सजाय हुन्छ ।
यस्तै किशोरीसहित आमालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ सजाय सुनाएको थियो । ८ जनाले भने सफाइ पाएका थिए । जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका वडाअध्यक्ष मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए ।
जाजरकोटको भेरी नगरपालिका ४ सानागाउँका २१ वर्षीय नवराज विकसहितका साथीहरु प्रेमिकालाई लिन जाँदा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए । आक्रमणपछि नवराज विक र उनका साथीहरु सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत