सूचनाको शक्ति - The Power Of Information

        

दुई दिनदेखि बन्द भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द भएको भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा आजदेखि सञ्चालनमा आएको छ । ओपिडी सेवा सञ्चालनसँगै बिरामीको भीड बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले जानकारी दिए ।

उनले अस्पताल विकास समितिका सदस्य डा.डक्ट धितालको संयोजकत्वमा निर्माण भएको आगलागी छानबिन समितिलाई विस्तार गरिएको जानकारी दिँदै छानविन समितिमा अस्पतालका कर्मचारीबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय लगायतबाट एक–एक प्रतिनिधिसमेत सदस्य रहेको बताए ।

‘धेरै विषय बाहिर आएका छन्, त्यसैले यसको निष्पक्ष छानबिन होस भनेर यस्तो समिति निर्माण गरिएको हो,’ डा.सुवेदीले भने । अस्पतालमा गत शनिबार भएको आगलागीका कारण करिब रु चार करोड बरावरको क्षति भएको अनुमान गरिएको छ ।

आगालागीबाट अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने ‘भ्याक्सिन’ लगायत सबै जलेर नष्ट भएका थिए । मेडिकल स्टोरभित्र राखिएको ‘फ्रिज’मा विद्युत् सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका औषधि, उपकरण, कम्प्युटर लगायतका सामग्री जलेर नष्ट भएको बताइएको भए पनि त्यसको छानबिन प्रक्रिया सुरु भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १७:५४

लोकप्रिय