सूचनाको शक्ति - The Power Of Information

        

खजुराको एउटै वडामा १६ जना क्यान्सरका शङ्कास्पद बिरामी

बाँकेको खजुरा गाउँपालिकाको एउटै वडामा १६ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन् । खजुरा–२ सीतापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा १६ जना महिलामा पाठेघरको क्यान्सर देखिएको खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सो शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका २०३ जना महिलामध्ये १३९ जनाको पाठेघरको मुखको क्यान्सरको जाँचगर्दा १६ जनाको भिआइए पोजिटिभ अर्थात शङ्कास्पद पाइएको र पाँच जनाको पाठेघर खसेको पाइएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताइन् । उनले शिविरमा आएका ७१ जना महिलाहरूलाई पाठेघर सम्बन्धी सर्भिसाइटिस, भ्याजिनाइटिस र भल्भाइटिसजस्ता विभिन्न सङ्क्रमण देखिएको बताइन् ।

पाठेघरको शङ्कास्पद क्यान्सर देखिएका र पाठेघर खसेका तथा अन्य सङ्क्रमण भएकाहरूलाई भेरी अस्पतालमा थप परीक्षण र उपचारका लागि रिफर गरिएको सो शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेकी भेरी अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.उर्मिला पराजुलीले बताइन् । उनले सो शिविरमा आएका अधिकांशको पाठेघरमा समस्या देखिएको जनाउँदै सो बारेमा सेचतना फैलाउनु आवश्यक रहेको बताइन् ।

उक्त निःशुल्क शिविरमा भेरी अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.पराजुली र एचसिआरसी अस्पतालका वरिष्ठ स्त्रीरोग तथा बाझोपन विशेषज्ञ डा.मन्जु बिसी शाह र नेपालगन्ज मेडिकल कलेजका कन्सल्ट्यान्ट फिजिसियन डा.शंकर केसीले महिलाहरूको स्वास्थ्य परीक्षण गरेका थिए । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले एएफडी एवम् एमडिएम फ्रान्ससँगको साझेदारीमा सञ्चालन गरेको ‘पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’अन्तर्गत गाउँपालिकासँगको समन्वयमा आयोजना गरिएको परियोजना संयोजक समद सिद्दिकीले बताए ।

शिविरको समापन गर्दै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले यस्ता शिविरहरूबाट ग्रामीण क्षेत्रका बिरामीलाई धेरै फाइदा हुने गरेको जनाउँदै अन्य वडामा पनि सञ्चालन गर्न अनुरोध गरिन् । सो अवसरमा वडा नं.२ का वडाध्यक्ष धनराम ओली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षकहरू नरेश श्रेष्ठ, बिष्णु श्रेष्ठ र शमसुद्दिन, एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्कबहादुर थापा र बिग्रुपका अध्यक्ष डा.इन्द्रबहादुर भण्डारी लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १७:५४

लोकप्रिय