शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका छन् । आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरू गत चैत २७ गतेदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका हुन् ।
आन्दोलनको क्रममा आज धेरै शिक्षकहरू थपिएका छन् । देशभरका विभिन्न जिल्लाहरूलाई हजारौँको सङ्ख्यामा शिक्षकहरू आजको आन्दोलनमा थपिएका हुन् । शिक्षकहरू थपिँदा आन्दोलनमा अहिलेसम्मकै बढी भीड देखिएको थियो ।
आन्दोलनको २६ औँ दिन (हिजो) प्रहरीले बल प्रयोग गर्दा ६२ जना शिक्षकहरू घाइते भएका थिए । ती एक दर्जन बढी शिक्षकहरू गम्भीर घाइते भएका छन् । शिक्षकहरूमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेको थियो ।
प्रहरीको दमनपछि नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनमा घरमै बसेका शिक्षकहरूलाई तत्काल आउन आह्वान गरेको थियो । सोही आधारमा आज धेरै शिक्षकहरू थपिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले बताए ।
‘हिजोको तुलनामा दोब्बर शिक्षकहरू आज सडकमा थिए । आजको आन्दोलन शान्तिपूर्ण थियो । तर, हिजो प्रहरीले दमन गरेपछि देशभरका थप शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँ आएका हुन्,’ अध्यक्ष भण्डारीले भने ।
आजभन्दा भोलि थप शिक्षकहरू काठमाडौँ आउने तयारीमा रहेको उनको भनाइ छ । महासङ्घले प्रहरीको दमनपछि आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको थियो । सोही आधारमा आजदेखि व्यापक रूपमा शिक्षकहरूको उपस्थित हुन थालेको अध्यक्ष अधिकारीले बताए ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको २७ औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेको बताए । यी शिक्षक कर्मचारी साथीहरू माग पुरा नहुँदासम्म थाक्ने, गल्ने तथा नभाग्ने बताए ।
उनले भने, ‘सत्तामा हुनेहरू थाक्लान् तर शिक्षक कर्मचारीहरू थाक्दैनन्, गल्दैनन् । हिजो प्रहरी प्रशासनले बर्बरताको पराकाष्ठा देखायो । नाङ्गो नाच देखायो । शान्तिपूर्ण आन्दोलन रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गा मुढाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी बर्सायो । फोहोरा हान्यो । हामी त्यसको घोर निन्दा गर्दछौँ ।’
हिजोको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएको भन्दै ६२ हजार शिक्षक घाइते हुन तयार रहेको बताए । शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने पनि नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुवेदीले प्रस्ट पारे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं