सूचनाको शक्ति - The Power Of Information

        

‘नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’

मुलुकभरका १०० बढी बालबालिका तथा युवाले जलवायु परिवर्तन र यसबाट उत्पन्न सङ्कटका बारेमा चिन्ता व्यक्त गर्दै त्यसबाट जोगिने उपायको खोजी गरेका छन् । बालबालिका तथा युवा (वायु) संवादका लागि भेला भएका उनीहरूले सरकारको आयोजनामा हुन गइरहेको अन्तरराष्ट्रिय ‘सगरमाथा संवाद’को सन्दर्भमा बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा छलफल गरेका थिए ।

विशेषगरी २४ वर्षमुनिका युवाले नेपालको झन्डै आधा जनसङ्ख्या ओगट्ने अवस्थामा यो कार्यक्रमले एक महत्त्वपूर्ण सन्देश दिएको वन तथा वातावरण मन्त्रालय उपसचिव डा प्रकाशसिंह थापाले जानकारी दिए । सो कार्यक्रममा सहभागी २० वर्षीय निश्चल भट्टले भने, ‘जलवायु परिवर्तन भविष्यको चिन्ता होइन, यो आजकै यथार्थ हो, हामी युवासँग परिवर्तन ल्याउने जोश र शक्ति छ । हामी जलवायु न्यायसहितको र उत्थानशील समाज निर्माणमा योगदान दिनका लागि अनुकूल वातावरणको माग गरिरहेका छौँ ।’

जलवायु परिवर्तनमा उनीहरूको योगदान धेरै कम भए पनि बालबालिका तथा युवाले यसको परिणाम सबैभन्दा बढी व्यहोर्नुपरेको छ । अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदूषित हावापानीका कारण उनीहरूको स्वास्थ्यमा जोखिम, कुपोषणमा वृद्धि र अध्ययनमा बाधा पुगिरहेको छ । नेपालमा सङ्क्रामक कीटजन्य रोग, खाद्य सुरक्षा तथा विद्यालय बन्द हुनुसँग जलवायु परिवर्तन जोडिएको छ । यी सबै चुनौतीले बालबालिका तथा युवाहरू बढी प्रभावित छन् ।

‘सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्छन् । जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ,’ नेपालका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आवासीय संयोजक डा एलिस अकुङ्गाले भने । वायु संवादमा बालबालिका तथा युवाको नेतृत्वमा गरिएको जलवायु सङ्कट समाधानको प्रदर्शनी, श्रव्यदृश्य प्रदर्शन, जलवायु उत्थानशीलता सम्बन्धी विज्ञ सत्र र दुई अन्तरपुस्तीय प्यानल छलफल समावेश थिए ।

पहिलो सत्रमा शिक्षा, स्वास्थ्य, पानीजस्ता आधारभूत सेवामा जलवायु परिवर्तनको प्रभावबारे छलफल गरिएको थियो । दोस्रो सत्रमा जेठ २ देखि ४ गते हुन गइरहेको सगरमाथा संवादको मूल विषयसँग मेल खाने गरी पर्वतीय पारिस्थितिकी, जलवायु परिवर्तन र मानवताको भविष्यबारे प्रकाश पारिएको थियो । सो संवादमा बालबालिका, किशोरकिशोरी तथा युवाले जलवायु परिवर्तन सम्बन्धी आफ्ना प्रत्यक्ष अनुभव तथा स्थानीयस्तरमा गरिरहेका प्रयास पनि साझा गरेका थिए ।

कार्यक्रमको एउटा मुख्य उपलब्धि भनेको सहभागी बालबालिका तथा युवाद्वारा तयार गरिएको घोषणापत्रलाई लिइएको छ । त्यसमा उनीहरूले जलवायु परिवर्तनप्रति उत्थानशील नेपाल निर्माणका लागि आफ्ना माग, प्रतिबद्धता र प्रस्तावित कार्य समेटेका छन् । यो घोषणापत्र सगरमाथा संवादअघि यसको सचिवालयमा बुझाइनेछ । ‘बालबालिका र युवालाई हाम्रो जलवायु प्रतिबद्धताको केन्द्रमा राख्दै नेपाल विश्वभर नै उदाहरण बनेकोमा हामी गर्व गर्छौँ,’ कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भने ।

उनले अगाडी थपे, ‘हाम्रो दोस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदानले बालबालिका तथा युवाको आवश्यकतालाई पहिल्यै समावेश गरिसकेको छ र यो विश्वकै सबैभन्दा समावेशी दस्तावेजमध्ये एक हो ।’ उनले वायु संवाद युवाका आवाजलाई नीतिमा, व्यवहारमा र हरियाली तथा उत्थानशील नेपालको यात्रामा परिणत गर्ने अत्यन्तै महत्त्वपूर्ण मञ्च भएको मन्त्री शाहीको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवाको अगुवाइमा भएको कार्यक्रमको प्रशंसा गर्दै संवादका निष्कर्षले नेपालका नीति तथा योजनालाई मार्गदर्शन गर्ने बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतवार १४:३६

लोकप्रिय