सूचनाको शक्ति - The Power Of Information

        

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ ।

यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा रहेको छ ।

हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नुपर्दैन । तर, हाम्रो सांस्कृतिक परम्परा अनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् डा.वासुदेव कोइरालाले भने ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन पनि बढेको छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्साइएको छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका भट्टराईका अनुसार यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ ।

मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । मेला भर्नेहरुको बिहानैदेखि घुइँचो छ । कतिपय दर्शनार्थीहरु शनिबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए । उनीहरुले बिहान सबेरै स्नान गरी पूजा गरेका छन् । आमा नहुनेहरु मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव)को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यता समेत छ ।

साथै आज काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा पनि मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ । मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतवार ०६:३२

लोकप्रिय