सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा

बाँकेका भूमिहीन दलित र सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको हो ।

बाँकेको कोहलपुरमा बसेको सर्वदलीय बैठकबाट बाँकेको कोहलपुरमा रहेका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्ने निर्णय गरिएको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनले कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वैशाख २० गतेका दिन लालपुर्जा वितरण कार्य सुरु गरिने बताए ।

‘सर्वदलीय बैठक बसेर कोहलपुरबाट लालपुर्जा वितरण गर्ने निर्णय गरेका छौँ, कोहलपुर नगरपालिका वडा नम्बर १ बाट लालपुर्जा वितरण अभियानलाई सुरु गर्दैछौँ, उक्त वडामा १४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले आयोगमा लालपुर्जाका लागि आवश्यक कागजात पेस गर्नुभएको छ,’ अध्यक्ष खनालले भने ।

उनका अनुसार लालपुर्जा वितरणका लागि अहिलेनै सङ्ख्या क्लियर भइसकेको छैन, फाइलहरू अध्ययन र छालबिनकै क्रममा छन्, केही दिनमा क्लियर सङ्ख्या निर्धारण हुन्छ, वैशाख २० गते लालपुर्जा वितरणको कार्य सुरुआत हुनेछ । अध्यक्ष खनालले कोहलपुरमा एक कार्यक्रमको आयोजना गरी लालपुर्जा वितरण कार्य सुरु गरिने बताए ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली वा विभागीय मन्त्रीबाट लालपुर्जा वितरण गर्ने कार्यको उद्घाटन गरिने उनले जानकारी दिए । वैशाख महिनाभरमा जिल्लाभरी करिब तीन हजार भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य आयोगले राखेको उनले बताए । यसघिका आयोगहरूले काम गर्न बाँकी अधूरा र अपूरा कार्यहरूलाई पनि अगाडि बढाइने उनले बताए ।

‘हामीभन्दा अगाडिका आयोगहरूले बाँकी राखेका कामहरूलाई पनि हामी निरन्तरता दिने छौँ, पहिलेका अधूरा र अपूरा कार्यहरूको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय नेपालगन्ज बाँके, भूमिसुधार तथा मालपोत कार्यालय कोहलपुर तथा भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज बाँकेलाई पत्राचार गरी विवरण माग गर्ने तयारी गरेका छौँ,’ अध्यक्ष खनालले भने ।

उनका अनुसार बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा फाइल दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासी छ हजार ७९८ र अव्यवस्थित बसोवासी ४३ हजार २२६ रहेको उनले बताए । बाँकेका आठ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि फारम दर्ता भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण भने अझैसम्म प्राप्त नभइसकेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार ०७:३२

लोकप्रिय