सूचनाको शक्ति - The Power Of Information

        

दैनिक २२ सय १९ जना रोजगारी खोज्दै विदेशतिर

वैदेशिक रोजगारीमा जानको लागि एक वर्षको अवधिमा आठ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले २०८१ वैशाख १ देखि चैत ३१ गतेसम्मको एक वर्षको अवधिमा उनीहरूलाई श्रम स्वीकृति प्रदान गरेको हो ।

विभागको तथ्यांक अनुसार वर्ष २०८१ मा कुल आठ लाख १० हजार १०८ जनालाई अन्तिम श्रम स्वीकृत दिइएको छ । श्रम स्वीकृति लिनेमा सात लाख २० हजार ७३५ पुरुष र ८९ हजार ३७३ महिला छन् । वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेमा ११.०३ प्रतिशत महिला रहेका छन् । गत वर्ष सबैभन्दा बढी श्रम स्वीकृति मंसिर महिनामा जारी भएका थिए ।

उक्त महिना कुल ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार, २०८१ वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ८६१, असारमा ५८ हजार ७३६, साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५ जनाले वैदेशिक रोजगारमिा जान श्रम स्वीकृति लिएका थिए ।

यस्तै, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३ र चैतमा ७३ हजार ४०३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीमा जानको लागि वर्ष २०८१ मा मासिक औसतमा ६७ हजार ५०९ जनाले श्रम स्वीकृति लिएका थिए । रोजगारी खोज्न विदेश जान चाहनेको संख्या दैनिक औसतमा दुई हजार २१९ जनाभन्दा बढी रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार ०७:०५

लोकप्रिय