सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको पशु प्रजनन केन्द्रमा साँढे र बोकाबाट वीर्य उत्पादन बढ्यो

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट वीर्य सङ्कलन, उत्पादन तथा वितरण गर्दै आएको छ । चालु आर्थिक वर्षको चैत महिनासम्म नौ महिनाको समय अवधिमा कार्यालयले मुर्रा तथा साँढेबाट ८४ हजार २२३ डोज जमेको वीर्य उत्पादन गरेको छ ।

गत वर्षको सोही समय अवधिमा कार्यालयमा ८१ हजार ६५५ डोज जमेको वीर्य उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष जमेको वीर्य उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवको चैत महिनासम्म नौ महिनाको अवधिमा ८४ हजार २२३ डोज जमेको वीर्य उत्पादन भएको छ ।

गत वर्ष सोही समय अवधिमा ८१ हजार ६५५ डोज जमेको वीर्य उत्पादन भएको थियो भने यस वर्ष वीर्य उत्पादनमा वृद्धि भएको छ । कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले भने, ‘गत वर्ष बयर जातको बोकाको पनि वीर्य उत्पादन गरेका थियौँ, तर यस वर्ष पुरानो स्टक रहेको हुँदा बोकाबाट वीर्य सङ्कलन र उत्पादन गरेका छैनौँ, मुर्रा राँगा र साँढेबाट मात्र यस वर्ष वीर्य सङ्कलन र उत्पादन गरेका छौँ ।’

वरिष्ठ पशु विकास अधिकृत खनालका अनुसार यस वर्ष चैत महिनासम्म जर्सी साँढेबाट नौ हजार ४२६ डोज, होलिष्टेन साँढेबाट १६ हजार ७५३ डोज, नेपालगन्ज मुर्रा राँगाबाट ४३ हजार ५१२ डोज, भारतीय मुर्रा राँगाबाट नौ हजार ८९० डोज र गड्डी राँगाबाट चार हजार ६४२ गरी जम्मा ८४ हजार २२३ डोज जमेको वीर्य उत्पादन गरिएको हो ।

त्यसैगरी ५१ हजार ९७४ डोज वीर्य वितरण गरिएको छ । गत वर्ष सोही समयमा ४८ हजार ४२७ डोज वीर्य वितरण गरिएको थियो । यस अवधिमा ३५ हजार ३४६ वटा पशु चौपायालाई कृत्रिम गर्भाधान गराइएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले बताए । उनका अनुसार १९ हजार ७७३ वटा गाई, १४ हजार ८९५ भैँसी, ६७८ बाख्रा गरी ३५ हजार ३४६ वटा पशुलाई कृत्रिम गर्भाधान गराइएको हो ।

कृत्रिम गर्भाधानका लागि वीर्य (सिमेन) उत्पादन गर्न कार्यालयमा १२ वटा मुर्रा राँगा, ६ वटा साँढे र ७ वटा बोका राखिएको उनले जानकारी दिए । उनका अनुसार कार्यालयले कृत्रिम गर्भाधान मात्र नभएर प्राकृतिक गर्भाधान समेत गराउँदै आएको छ । प्राकृतिक गर्भाधानका लागि तीन वटा साँढे, ६ वटा बोका र ३ वटा मुर्रा राँगा राखिएको छ ।

यस वर्षको नौ महिनाको अवधिमा ८९ वटा गाई, ४०१ भैँसी र २१० बाख्रा गरी ७०० वटा पशु चौपायालाई प्राकृतिक गर्भाधान गराइएको छ । तरल नाइट्रोजन विक्री, वीर्य विक्री, घाँसको बीउ विक्री, घाँस विक्री तथा अन्य प्रशासनिक शुल्क र विविधबाट यस आवको नौ महिनामा ३४ लाख १९ हजार ९८१ रुपियाँ राजस्व सङ्कलन गरिएको जैसीले जानकारी दिए ।

कार्यालयबाट तरल नाइट्रोजन प्रति लिटर ५० रुपियाँ, जमेको वीर्य स्वदेशी–विदेशी प्रति स्ट्र ५० रुपियाँ, प्राकृतिक गर्भाधान गाई प्रति सङ्ख्या २०० रुपियाँ, भैँसी २०० रुपियाँ र बाख्राको ५० रुपियाँ शुल्क तोकिएको कार्यालयका सूचना अधिकारी पशु विकास अधिकृत डा.मिलनकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै जिल्लाहरू तथा लुम्बिनी प्रदेशका रोल्पा, रुकुम, दाङ, सल्यान, प्युठान, बाँके र बर्दिया जिल्लामा पशु प्रजनन सेवा सञ्चालनमा सहजीकरण गर्दै आएको छ । कार्यालयले गत आवमा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज जमेको वीर्य उत्पादन गरेको थियो । चालु आवमा पनि एक लाख बढी डोज वीर्य उत्पादन गर्ने लक्ष्य कार्यालयले लिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १०:१४

लोकप्रिय