प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० तेर्सेमा आइतबार बिहान करिब ४ः५० बजेतिर उक्त घटना भएको हो ।
प्रारम्भिक जानकारी अनुसार, फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा बिजुलीको पोलबाट लत्रिएको तार छुँदा आगलागी भएको अनुमान गरिएको छ । घटनास्थलमा रहेका पत्रकार वसन्त लिम्बूले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जीप चालक फुङ्लिङ घर भएका ४५ वर्षीय दुर्गा भट्टराईसहित चार जना छन् ।
मृत्यु हुने अन्यमा ललितपुर घर भएकी १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल रहेका छन् । तीर्थयात्रीहरू ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको बताइएको छ । यस दुर्घटनामा ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएकी छन् भने उनका नौ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले गम्भीर घाइते सविनाको शरीरको धेरै भाग जलेको र उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि लैजाने तयारी भइरहेको जानकारी दिए । सामान्य घाइते बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । इन्सपेक्टर बस्नेतले घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताए ।