नेपालमा पाठेघरको क्यान्सरको समस्या दिन प्रतिदिन बढ्दो देखिन्छ । क्यान्सर रोग विशेषज्ञ डाक्टरहरूले धेरै फोरममा यसको बारेमा आवाज उठाइरहे पनि यो समस्या बढ्दो ग्राफमै देखिन्छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.विनोद अर्यालका अनुसार हाल नेपाल पाठेघरको क्यान्सरमा एक नम्बरमा छ ।
क्यान्सरको व्यापकता र मृत्यु दर एकदम धेरै रहेको डा अर्यालको भनाइ छ । विश्वकै तथ्याङ्क हेर्दा पनि नेपाल यो केसमा धेरै अगाडि रहेको उनी बताउँछन् । उनका अनुसार पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’ नामक एउटा कीटाणुले गर्दा हुन्छ । यो कीटाणु शरीरमा बसिरहेको पनि हुन सक्छ ।
कुनै कारणवश यदि यो कीटाणु पाठेघरको मुखभित्र छिरेर सङ्क्रमण गरेको खण्डमा शरीरमा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिको शरीरमा क्यान्सर निम्त्याउन सक्ने डा.अर्याल बताउँछन् । डा.अर्यालका अनुसार यदि शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त छ भने ऊसँग रोगसँग लड्ने क्षमता प्रशस्त हुन्छ ।
त्यस्तो अवस्थामा शरीरले आफैँ सङ्क्रमण क्लियर गर्दै जाने उनले बताए । तर लामो समयसम्म शरीरमा त्यो भाइरस बसिराख्यो भने क्यान्सरभन्दा अघिल्लो चरणमा पु¥याउने र बिस्तारै क्यान्सर नै हुने उनको भनाइ छ । तर पाठेघरको मुखको क्यान्सरका बारेमा बेलैमै सचेत रहने हो भने उपचार पनि सम्भव रहेको डा.अर्याल बताउँछन् ।
उनी भन्छन्, ‘पाठेघरको मुखको क्यान्सर नै एउटा त्यस्तो क्यान्सर हो जुन हुनु भन्दा ८–१० वर्ष अगाडि नै सम्भावना छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ र यो एकमात्र त्यस्तो क्यान्सर हो, जसलाई भ्याक्सिनबाट रोकथाम गर्न पनि सकिन्छ ।’ पाठेघरको मुखको क्यान्सरको बारेमा धेरै सचेतना जगाउन जरुरी रहेको डा.अर्यालले प्रस्ट पारे ।
९ देखि १४ वर्षका बालिकामा भ्याक्सिन लगाउने, ‘सेक्सिुअल्ली एक्टिभ’ महिलाले कम्तीमा ३ वर्षको अन्तरालमा पाठेघरको मुखबाट आउने पानीको नियमित जाँच गराउनुपर्ने उनी बताउँछन् । यसबाट क्यान्सर हुनुभन्दा अगाडि नै पत्ता लगाउन सकिने उनले बताए ।
पाठेघरको मुखमा क्यान्सर भएका महिलासँग यौन सम्पर्क गर्दा पुरुषमा सर्ने सम्भावना कति छ भन्ने प्रश्नमा डा.अर्याल भन्छन्, ‘पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस यौन सम्पर्कबाट पुरुषमा पनि सर्न सक्छ । र त्यही भाइरसले पुरुषमा पनि निश्चित क्यान्सर गराउन मद्दत गर्ने हुन्छ ।’
महिलाको पाठेघरको क्यान्सरबाट हुने अप्रत्यक्ष असरहरू जस्तै व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध, आर्थिक बोझजस्ता कुराले पनि पुरुषमाथि प्रत्यक्षरअप्रत्यक्ष असर पारिरहेकै हुने उनले बताए । डा.अर्यालका अनुसार पाठेघरको मुखको क्यान्सर मात्र नभएर महिलाहरूले स्तनको क्यान्सरका बारेमा पनि सचेत हुन जरुरी छ ।
त्यसका लागि नियमित चेकजाँच गर्न उनी सुझाव दिन्छन् । समयमै त्यसका लक्षण वा समस्या पहिचान भएमा ठुलो रोग लाग्नबाट बच्न सकिने उनले बताए । ४० वर्ष नाघिसकेपछि स्तनको विशेष जाँच ‘म्यामोग्राफी’ गराउँदा धेरै कुराहरूबाट बच्न सकिने डा.अर्याल बताउँछन् । उनका अनुसार गर्भवती हुन चाहने र गर्भवती भएका महिलाले डाक्टरको परामर्श लिइरहनु उत्तम हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं