सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा छाडा कुकुरको बन्ध्याकरण

नगरपालिका क्षेत्रभित्र छाडा र भुस्याहा कुुकुरको सङ्ख्या वृद्धि हुँदै गएको भन्दै नेपालगन्ज उपमहानगरले छाडा र भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गर्ने र रेबिजको खोप लगाउने काम सुरु गरेको छ ।

नेपालगन्ज उमपहानगरपालिकाको आर्थिक विकास समिति र पशु सेवा शाखाको आयोजनामा उपमहानगरका २८१ वटा कुकुरको स्थायी बन्ध्याकरणसंगै रेबिजविरुद्धको खोप लगाइएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्जमा पाँच दिनसम्म सञ्चालन गरिएको कुकुरको स्थायी बन्ध्याकरण शिविरमा छाडा र भुस्याहा कुकुरलाई खोजेर २८१ वटा कुकुरको स्थायी बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको पशु सेवा शाखाका पशु चिकित्सक आशिष थारूले बताए । उनले छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्नका लागि स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको जानकारी दिए ।

छाडा कुकुरको सङ्ख्या बढ्दा दुर्घटनाको पनि जोखिम बढेको र मानिसलाई टोक्ने क्रम पनि बढेकाले कुकुरको सङ्ख्या नियन्त्रण गर्न बन्ध्याकरण शिविर राखिएको बताए । शिविरमा बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको पशु चिकित्सक थारूले बताए । उनले गत वर्ष पनि शिविर गरेर छाडा कुकुरको स्थायी बन्ध्याकरण गरिएको बताए ।

नेपालगन्ज–४ का वडाध्यक्ष गोपालले पुनले उपमहानगरका केही वडामा छाडा कुकुरको आतङ्क नै देखिएकाले स्थानीय त्रासमा रहेको हुँदा कुकुरलाई रेबिजको खोप लगाउनुपर्ने भएकाले पनि शिविरको आयोजना गरिएको बताए । बन्ध्याकरण शिविरमा पशु शाखा प्रमुख लक्ष्मी शाही, पशु स्वास्थ्य प्राविधिक शिव भुसाल लगायतको पनि सहभागिता थियो ।

नेपालगन्जको वडा नं.४, ८ र ११ लगायतमा छाडा कुकुरको सङ्ख्या अत्यधिक रहेकाले ती सबै कुकुरलाई रेबिजको खोप लगाउन र उनीहरूको सङ्ख्या बढ्न नदिन गम्भीर भएर सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ । नगरमा बाँदरको समेत आतङ्क बढ्दै गएकाले सो नियन्त्रणतर्फ पनि उपमहानगरले समयमै उचित कदम चाल्नुपर्ने माग स्थानीयको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतवार १६:२३

लोकप्रिय