[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
सूचनाको शक्ति - The Power Of Information

        

रैथाने खान जाने हैन भृकुटीमण्डप ?

काठमाडौंको भृकुटीमण्डप उद्यानमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त छिन् । छेवैमा पाक्दैछ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ । खाना पारखीहरु स्वाद मानी मानी खाइरहेका देखिन्छन् ।

नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’बाट चिनिएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाएकोले महोत्सवमा यसको स्वाद चखाउन आएको बताइन् । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जितेकी उनले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवद्र्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताइन् ।

सुब्बाले भनिन्, ‘हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौं भने यसले अन्तरराष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ ।’ उनको छेवैको स्टलमा नेवारी परिकारहरु बारा, योमरी, छोयला राखिएका छन् । खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ ।

भिलेज क्याफेकी पुनमाया डंगोलले नेवारी परिकारहरुलाई प्रवद्र्धन र यसको स्वाद सबैमाझ पुर्याउन महोत्सवमा सहभागी भएको बताइन् । उनले भनिन्, ‘क्याफेमा त थुप्रै परिकारहरु पाइन्छन् । आज भने हामीले यति मात्र ल्याएका छौं । नेवारी परिकारहरु धेरैको जिब्रोमा झुण्डिएको छ । धेरैले रुचाइ दिनुभएको छ ।’

विगत डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दै आएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुन् । उनीसँग १५० वटा मौरीका घार छन् । उनले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीहरुको ब्रान्डिङ गरेर बेच्दै आएकी छन् । उनको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्दु्रक लगायत २० प्रकारका सामग्रीहरु छन् ।

आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी रहेको छ । ‘यी अन्नहरु मधुमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ । कतिलाई थाहा छैन । थाहा हुनेले खोजेर खानुहन्छ,’ उनले भनिन् । परम्परागत र मौलिक खानाको संगम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ । ओखलढुंगे डेरी एण्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थहरु लगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्किी, पनिर तथा चिज मःम बेच्दै आएको छ ।

डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेय पदार्थभन्दा कैयौं गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाए । उनले भने, ‘स्थानीय उत्पादन मोहीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले सुरु गरेका हौं । गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शितल गराउँछ ।’

अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टले यो महोत्सव परिकारहरुको प्रदर्शनी मात्र नभइ नेपाली सेफहरुको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजिव दस्तावेज रहेको बताए । भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको बताए । उनले भने, ‘विश्वसामु चिनाउने हाम्रो सपना हो । यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ ।’

खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ । महोत्सवमा ५० वटा स्टल, (४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी) रहेको छ । खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि)को परिकारहरु राखिएको छ ।

[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.

प्रकाशित मिति : ७ बैशाख २०८२, शनिबार १८:०९

लोकप्रिय

[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.