नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई अनुसन्धानका लागि सैनिक हिरासतमा राखिएको छ । कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा उनलाई सैनिक हिरासतमा राखिएको हो । ‘कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा सामान्य सोधपुछ चलिरहेको छ,’ सैनिक उच्च स्रोतले भन्यो ।
सहायक रथी खड्कालाई बुधबार सैनिक हिरासतमा राखिएको स्रोतको दाबी छ । कोषको सात करोड रुपैयाँ हिनामिना भएको सन्दर्भमा सेनाभित्र छानबिन चलिरहेको छ । कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–०८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो ।
सहायक रथी खड्कालाई सैन्य हिरासतमा लिइएको विषयमा नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले अनभिज्ञता प्रकट गरे । ‘यो विषयमा मलाई जानकारी छैन,’ उनले भने । महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वाइरीले तत्कालीन आवास तथा बिमा शाखामा कार्यरत सेनानी समीर गुरुङ, प्युठ टीकाराम गोतामे र जमदार रवीन्द्र लुंगेलीको मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । गुरुङ भने विदेश पुगिसकेको स्रोतले जनाएको छ ।
यसैबीच सिरियामा संयुक्त राष्ट्रसंघको ‘युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स’ अन्तर्गत खटिएको नेपाली सेनाको टोलीमाथि पनि जंगीअड्डाले छानबिन थालेको छ । सिरियाबाट फर्किएको १९७ सदस्यीय टोलीका झण्डै ३० जनामाथि सोधपुछ भइरहेको छ, जसमा मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित चार अधिकारी अहिले पनि सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।
२२ मंसिर २०८१ मा सिरियाको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूहले हमला गरी केही अत्याधुनिक हतियार लुटेका थिए । घटनापछि युनले छानबिन गरी हतियार फिर्ता गरिसकेको भए पनि नेपाली सेनाले आन्तरिक कमजोरीको मूल्याङ्कन गर्न छानबिन थालेको हो । हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरिरहेको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । सैनिक प्रहरी गण सैनिक अधिकारीहरूले गरेको अपराधको अनुसन्धान गर्ने निकाय हो ।
गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ । सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ । हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् । विश्वका ११ विभिन्न मुलुकमा नेपाली सेनाका ५ हजार ९१८ सैनिक शान्ति स्थापनार्थ खटिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं