बाँकेमा दुर्घटना न्युनीकरण र ट्राफिक सचेतनाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले दैनिक रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आए पनि ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम भने बढ्दै गएको छ । चैत महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ७२० वटा सवारी साधनलाई कारबाही गरेर २९ लाख ५८ हजार रुपैयाँ जरिवाना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले मासिक प्रगती विवरण सार्वजनिक गर्दै निरन्तर रूपमा दैनिकजसो जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिए पनि ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम वृद्धि हुँदै गएको बताए । उनले फागुन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ६९४ र माघ महिनामा तीन हजार २९७ वटा सवारी साधनलाई कारबाही गरिएकोमा चैत महिनामा सो सङ्ख्या झन वृद्धि भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चैत महिनामा बाँके जिल्लामा ७१ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर सात जना नागरिकको मृत्यु हुनुका साथै १२० जना घाइते भएको प्रहरीले जनाएको छ । चैत महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा २६३ वटा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेर चालक, सर्वसाधारण र विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी गराए पनि ट्राफिक नियम उल्लङ्घन नरोकिएको प्रहरीको भनाइ छ ।
सोही प्रकारले जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको चैत महिनाको प्रगति विवरणमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १३ लाख ६९ हजार ३५० रुपैयाँको अवैध सामान बरामद गरेर भन्सारमा बुझाइएको, तीन लाख चार हजार ६३५ रुपैयाँ बरावरको अवैध ब्रोइलर कुखुरा बरामद गरी पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको र १५८ वटा मुद्दा दर्ता भएकोमा १९३ जनालाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिएको उल्लेख गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके