कपाल झर्ने समस्या जसलाई पनि हुन सक्छ, चाहे ती जुनसुकै लिङ्ग, उमेर समूह र जातजातिका होऊन् । आनुवंशिक, चिकित्सकीय अवस्था, बुढ्यौली अथवा जीवनशैलीलगायत कैयौँ कारणले कपाल झर्न सुरु हुन सक्छ । कपाल झर्ने कारण र त्यसका समाधानबारे यूकेमा रहेकी एक केशविशेषज्ञ एनिटान एगिडी के भन्छिन् ?
उनले थरीथरीका मानिसहरूलाई हेर्दै आएकी छन्, तीमध्ये खास गरी अफ्रिकी मूलका मानिसहरूको जस्तो कपाल हुने महिला छन् । ‘कपाल झर्ने समस्या नहुने कोही पनि हुँदैनन् । यहाँसम्म कि मेरै कपाल धेरै बाक्लो थियो, तर अहिले कपाल झर्ने समस्या भइरहेको छ,’ उनले भनिन् । अमेरिकी जर्नल ‘डर्माटोलजिक सर्जरी’का अनुसार १८–२९ उमेरका १६ प्रतिशतभन्दा बढी पुरुषले कपाल झर्ने समस्या झेल्ने गरेका छन् ।
त्यो बढेर ३०–३९ उमेरका ३० प्रतिशत पुरुषमा त्यो समस्या देखिन्छ भने ४०–४९ उमेरका करिब आधाजति पुरुषले कपाल झर्ने समस्या झेल्छन् । चिकित्सकहरूले भन्ने गरेको ’एलपीशा’ अर्थात् कपाल झर्ने समस्या पुरुषमा हुँदा बढी चर्चा हुने गर्छ, तर महिलाहरूमा पनि कपाल झर्ने समस्या सामान्य नै हुन्छ । हार्वर्ड मेडिकल स्कूलका अनुसार जिन्दगीको कुनै न कुनै बिन्दुमा एक तिहाइ महिलाहरूले पनि कपाल झर्ने समस्या भोग्छन् ।
छालारोग विशेषज्ञ डा.आँचल पन्थका अनुसार कपाल झर्ने समस्यालाई रोक्न सबैभन्दा पहिला कुनै व्यावसायिक व्यक्तिलाई देखाउनुपर्छ किनकि उनीहरूका सुझावअनुसार तपाईँ आफ्नो दैनिक जीवनमा थुप्रै परिवर्तन ल्याउन सक्नुहुन्छ । ‘कपालको वृद्धिका लागि उच्च प्रोटीनयुक्त खानेकुरा महत्त्वपूर्ण हुन्छ,’ उनी भन्छिन्, ‘यदि तपाईँमा कुनै प्रकारको पोषणको कमी छ भने सबैभन्दा पहिला त्यसको उपचार गर्नुपर्ने हुन्छ ।’
कपाल झर्ने समस्या देखिनासाथ धेरै मानिसले मिनक्सिडिलजस्ता रसायन भएका ‘टपिकल क्रीम’हरू अथवा क्याफीनमा आधारित उत्पादनहरू प्रयोग गर्न थाल्छन् । मिनक्सिडिल सामान्यतया तरल अथवा फिँजको स्वरूपमा प्रयोग हुन्छ । त्यसले कपालका जराहरूमा रगतको प्रवाह बढाउने गरेको पाइन्छ, जसले केश बढ्नमा मद्दत पुर्याउँछ । यसले कपाल पातलिने समस्या कम गर्न मद्दत गर्न सक्ने भए पनि त्यसले नयाँ कपाल नउमार्ने डा.पन्थ बताउँछिन् ।
खास गरी पुरुषहरूको हकमा कपाल झर्नबाट रोक्नका लागि कीटोकोनजोलको प्रयोग गरिन्छ । विज्ञहरूका अनुसार चायाको उपचारका लागि पनि त्यो राम्रो विधि हो किनकि चायाका कारण हुने सुजनले कपाल झर्ने समस्यालाई अझै नराम्रो बनाउन सक्छ । मिनक्सिडिलभन्दा फरक कीटोकोनजोल ‘एन्टिफङ्गल’ औषधि हो, जुन खासगरी तालुमा हुने ‘फङ्गल इन्फेक्शन’ अर्थात् एक प्रकारको ढुसीको उपचारमा प्रयोग गरिन्छ ।
कतिपय अध्ययनहरूका अनुसार कपाल झर्ने समस्यासँग सम्बन्ध भएको डीएचटी होर्मोनको स्तर पनि यसले घटाउन सक्छ । ‘धेरै मानिस कपाल झर्ने समस्या उपचार गराउन सकिने, कपाल उम्रिन सक्ने र केही गर्नुपर्दैन भनी ठान्छन्, जुन कुरा होइन । कपाल झर्नबाट रोक्नु भनेको जीवनभरि गरिएको एउटा प्रतिबद्धता हो,’ डा.पन्थ भन्छिन् ।
कपाल झर्ने समस्या समाधानका लागि कपालका किसिमबारे जानकारी महत्त्वपूर्ण हुन्छ । अफ्रिकन कपालबारे विशेषज्ञता हासिल गरेकी विज्ञ एगिडीका अनुसार ‘टाइट’, ‘हेबी ब्रेड्स’ र ‘हीट’ जस्ता हेअरस्टाइलले चाँडै कपाल झर्नुमा भूमिका खेल्न सक्छ । हेअरस्टाइलबारे बुझ्नु महत्त्वपूर्ण हुन्छ । आफ्नो कपालसँग रमाउनुहोस्, तर जब भारी र कसिलो ‘हेअरस्टाइल’ बनाउनुहुन्छ, त्यसले फोलिकलहरूमा धेरै दबाव सिर्जना गर्न सक्छ भन्ने कुरा बुझ्नुपर्छ ।’ कपाल बढ्नुमा फोलिकलहरूको भूमिका हुन्छ ।
तर तिनले तालुका घाउ निको पार्ने र छाला पुनः उत्पादन गर्ने काम पनि गर्छन् । उनी भन्छिन्, ‘अत्यधिक हेअरस्टाइलिङका कारण ट्र्याक्शन एलपीशा र फ्रन्टल फाइब्रोसिङ एलपीशा भनिने कपाल झर्ने अर्को अवस्था झेलिरहेका केही सेवाग्राही पनि मैले देखेकी छु ।’ कपाल झर्ने समस्यालाई अझ बल्झाउन सक्ने भनेका धूमपान, मदिरापान, तनाव र निद्राको कमी हुन् । डा.पन्थका अनुसार धूमपानले ‘भेजोकन्स्ट्रिक्शन’ नामक अवस्था निम्त्याउँछ, जसले तपाईँका अङ्गहरूमा रगतको प्रवाह घटाउँछ र यो समस्या तालुमा पनि हुन सक्छ ।
नियमित रूपमा तालु सफा नगर्दा पनि कपाल झर्ने समस्या निम्तिन सक्छ, कपाल ननुहाएर जीउ नुहाएको बेला पनि कपाल झरिरहेको तपाईँले देखेको हुन सक्छ । ‘यदि तपाईँको तालु चिल्लो खालको छ भने हरेक दिन अथवा एक दिन बिराएर कपाल नुहाउँदा जाती हुन्छ,’ डा.पन्थ सुझाउँछिन् । उनका अनुसार यदि तपाईँको तालु र हेअरस्टाइल अथवा सुक्खा छ भने सातामा कम्तीमा तीन पटक टाउको नुहाउनुपर्ने हुन्छ ।
कपाल प्रत्यारोपण सौन्दर्य सम्बन्धी शल्यक्रिया हो । मानिसहरूले प्रायः आफ्नो रूपप्रति आत्मविश्वास फर्काउनका लागि प्रत्यारोपण गराउँछन् । महँगो लागतबीच कपाल प्रत्यारोपण लोकप्रिय रहेको छ किनकि यसले तपाईँलाई सबैभन्दा राम्रो दृश्यात्मक परिणाम दिन सक्ने डा. पन्थ बताउँछिन् ।
तर उनका अनुसार कतिपय मानिसले यो नबुझ्न सक्छन् कि यदि तपाईँ कपाल प्रत्यारोपणपछि उपचार गर्न रोक्नुहुन्छ भने पाँचदेखि छ वर्षपछि तपाईँ आफ्नो प्राकृतिक कपाल झर्ने स्थितिमा पुग्न सक्नुहुन्छ र तपाईँसँग प्रत्यारोपित कपाल मात्र बाँकी रहन्छ ।
केशविशेषज्ञ एनिटान एगिडी कपाल प्रत्यारोपणलाई अन्तिम विकल्पको रूपमा लिनुपर्छ भन्ने धारणा राख्छिन् र यो कपाल झर्ने सबैको समस्याको समाधान पनि होइन । ‘कपाल प्रत्यारोपण भनेको चिसोमा बाहिर निस्कँदा ज्याकेट लगाउनु र ज्याकेट लगाएपछि भित्र अरू केही नलगाउनु भएजस्तै हो । केही समयपछि तपाईँले चिसो महसुस गर्न थाल्नुहुन्छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं