यस वर्षको ‘प्री मनसुन’ सक्रिय भएको छ । दुई दिनअघिदेखि देशका विभिन्न भूभागमा वर्षा गराउने गरी जलवाष्पयुक्त बादल नेपाल भित्रिएसँगै नेपालमा प्री मनसुन सक्रिय भएको हो । अबको साताभरि नै कहिले पूर्वी र कहिले पश्चिमी भूगोलमा हल्का वर्षासँगै बदली कायम राख्ने गरी प्री मनसुन सक्रिय भएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
शनिबारसम्म एउटा प्रणालीको असर देशका विभिन्न भूभागमा रहनेछ भने त्यसपछि फेरि अर्को वर्षा गराउने प्रणाली सक्रिय हुने देखिएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘बङ्गालको खाडी र अरेबियन सागर दुवैतिरबाट न्यूनचापीय प्रणाली नेपालतर आइरहेकाले अबका दिनमा बिहान हल्का घाम लागे पनि दिउँसोदेखि बदली हुँदै साँझपख पहाडी भेगमा गड्याङगुडुङसहित हल्कादेखि मध्यम वर्षा भइरहने छ ।’
यतिबेला सुदूपश्चिम र कर्णाली भूभागमा बढी सव्रिmय रहेको प्री मनसुनी वर्षा त्यसपछि कोशी र मधेश प्रदेशका जिल्लामा बढी सक्रिय रहने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् । प्री मनसुनका समयमा हल्का बदलीले पनि गड्याङगुडुङसहित चट्याङ पार्ने भएकाले सजग र सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । आगामी मनसुनका लागि वातावरण बनाउन यस प्री मनसुनले भूमिका खेल्ने गर्छ ।
हिउँदयामदेखि नै विगत लामो समयदेखि वर्षा नहुँदा खडेरीसँगै डढेलो देशव्यापी रूपमा बढेको थियो । जसले देशभर वायुप्रदूषण उच्च बनाएको थियो । वर्षाले ठुलो राहत मिलेको छ । यसैबीच, आज देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज शनिबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ । मेघगर्जन र चट्याङ, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं