२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

नाइट क्लबको छत खस्दा ६६ जनाको मृत्यु, १५० घाइते

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ चैत २७ गते बुधबार

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिंगोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तीमा ६६ जनाको मृत्यु भएका छन् । १५० भन्दा बढी घाइते भएका छन् । प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका वेला अचानक अँध्यारो भएको र क्लबको छत खस्न थालेको सञ्चारमाध्यमले जनाएको छ ।

घटना हुँदा क्लबमा करिब एक हजार मानिस रहेको बताइएको छ । आपतकालीन अपरेसन केन्द्र (सीओई)का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा ६६ जनाको मृत्यु भएको पुष्टि गरे । धेरै मानिस भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । मेन्डेजले भत्केको छतमुनि पुरिएका धेरैजसो अझै जीवित रहेकोमा आशावादी रहेको बताए । घटनामा प्रान्तीय गभर्नर र पूर्व मेजर ५१ वर्षीय लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि थिए ।

भग्नावशेषबाट निकालिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भयो । स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मी जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन् । राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरेका छन् । उनले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीले घाइतेको मद्दतमा जुटेको बताए ।

प्रकाशित मिति : २०८१ चैत २७ गते बुधबार