जग्गा सम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका थिए ।
तेलीलाई भारतको बिहार राज्यको चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरको पुजारीका रूपमा १० वर्षदेखि साधुको भेष धारणा गरी लुकिछिपी रहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । हत्यापश्चात् फरार भएका तेलीलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो ।
उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पर्साको वीरगञ्जबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । तेलीलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत पर्सामा पेस गरिएको ब्युरोका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

