सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं बन्यो विश्वकै प्रदूषित सहर

विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था (आईक्यूएयर)को पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा परेको छ । आईक्यूएयरको ‘लाइभ सिटी र्‍याङ्किङ’मा काठमाडौंको वायु गुणस्तर सूचकांक २२५ पुगेको छ, जुन स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ ।

भारतको दिल्ली, पाकिस्तानको लाहोर र भियतनामको हनोई जस्ता सहरहरूलाई काठमाडौंले पछाडि पारेको छ । दोस्रो स्थानमा हनोई (१८०), तेस्रोमा दिल्ली (१७७) र चौथोमा लाहोर (१७७) परेका छन् ।

त्यस्तै, भियतनामको हो चि मिन्ह सिटी (१५५) पाँचौं स्थानमा छ । चीनको वुहान (१५३) छैटौँ स्थानमा छ । सूचीको सातौँ स्थानमा पाकिस्तानको अर्को सहर कराची (१२९), आठौँमा चीनको सांघाई (१२९), नवौँमा इरानको तेहरान (१२७) र दशौँ स्थानमा भारतको मुम्बई (१२३) रहेका छन् ।

काठमाडौंमा वायु प्रदूषणको स्तर उच्च हुनुमा डढेलो, सवारी साधनको धुवाँ, निर्माण कार्यबाट निस्कने धुलोजस्ता कुराहरू मुख्य कारण छन् । वायु प्रदूषणको यो खतरनाक स्तरले श्वासप्रश्वास सम्बन्धी रोग, फोक्सोको समस्या भएका बिरामी बढेका छन् । विज्ञले सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कँदा मास्क लगाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार ११:२४

लोकप्रिय