दाङको ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ । सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार २७७ कित्ता विभिन्न व्यक्तिका नाममा गौचरनका रुपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी गरिएको छ ।
उनले भने, ‘सहकारीले कार्यविधि तयार गरेर चक्लाबन्दी जमिन तयार गर्ने र कृषिमा जोडिने नयाँ कार्यविधिअनुसार केरा खेती गरिएको छ ।’ बाँझो जमिनलाई सदुपयोग गर्ने र व्यवसायमा जोडिने उद्देश्यले जमिनको खोजी गर्ने क्रममा राप्ती किनारमा गौचरनमा केराखती थालिएको हो । ‘जग्गाको मालिक खोज्ने र छलफल गर्ने काम भयो । उनीहरु सबैले जग्गा सहजरुपमा दिनुभयो,’ सचिव अधिकारीले भने ।
चक्लाबन्दी गरी पाँच वर्षका लागि जमिन भाडामा लिएको उनको भनाइ छ । ‘बलौटे माटो भएकाले यहाँ केराखेती राम्रो हुन्छ,’ उनले भने । बिरुवा उत्पादन गर्न मालभोग केराखेती गरेको अधिकारी बताउँछन् । विसं २०८० बैशाखमा चितवनको टाँडी र हेटौँडाबाट २० हजार बोट ल्याएर केरा रोपिएको हो । रोपेको एक वर्षमा केरा पसाउन सुरु गरेको छ । बिरुवा खरिद गर्न ३७ लाख रूपैयाँ लगानी गरिएको अधिकारीले बताए ।
‘केराका बिरुवा रेखदेख गर्न पाँच जनालाई रोजगारी दिएका छौँ,’ उनले भने । अन्य कृषिबाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गत वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको अधिकारी बताउँछन् । एकपटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरु कृषिबाली जस्तो दुःख नहुने भएपछि सहकारीले केराखेती गरेको उनले बताए । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्माले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी गर्न सकिने बताइन् ।
‘स्थानीय खोलाबाट लिफ्टिङ र बोरिङबाट पानीको जोहो भएको छ । लमही विद्युत् प्राधिकारणले विद्युत् विस्तार गरेकाले बिजुलीको समस्या छैन,’ उनले भनिन् । केराखेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएकाले थोरै खेतीबाट पनि पर्याप्त आम्दानी लिन सकिने भएकाले पछिल्लो समय केराखेती गर्ने किसान बढेका कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार जिल्लामा ५३० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ