देशका केही स्थानमा अबका तीन दिन वर्षाको पूर्वानुमान गरिएको छ । तर, निरन्तर र ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षा हुनेछ । यसमा पश्चिमी वायुको भूमिका प्रमुख हुने र त्यो सक्रिय हुन लागेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
‘विशेषगरी पश्चिमी र स्थानीय वायु दुवैको प्रभाव रहने देखिन्छ,’ उनले भनिन्, ‘अबको तीन दिन बदली तथा हल्का वर्षाको सम्भावना छ ।’ शुक्रबार (चैत ८) देखि तीन दिन देशका केही भूभागमा बदली (आकाशमा बादल) र वर्षाको अवस्था रहने उनले बताइन् । यसको प्रभाव पूर्वमा बढी हुने उनले जानकारी दिइन् ।
‘पूर्वी भूभागमा बढी प्रभाव देखिन्छ । पश्चिममा कम छ, पूर्व र मध्य भूभागमा प्रभाव बढी हुन्छ,’ उनले भनिन् । उनका अनुसार, पूर्वी नेपालमा यसको प्रभाव देखिन सुरु भइसकेको छ । ‘गए रातिदेखि नै बादलहरू प्रवेश गरिसकेको छ,’ उनले भनिन्, ‘कोसी प्रदेशमा छिटपुट पानी पर्न सुरु भइसक्यो ।’
कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै भूभागमा वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ । ‘काठमाडौंमा घाम–बादल, घाम–बादल हुनेछ,’ उनले भनिन्, ‘काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ ।’
मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताइन् । हाल प्रिमनसुन अवधि हो । प्रिमनसुनमा मेघगर्जन तथा चट्याङ, हावाहुरीको सम्भावना हुने महाशाखाले जनाएको छ । यस्तो अवस्था तत्काललाई तीन दिनसम्म रहने उनले जानकारी दिइन् । ‘आजबाट बदलीको अवस्था रहन्छ,’ उनले भनिन्, ‘पर्सि (चैत १०) साँझदेखि मौसममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं