२०८२ कात्तिक २८ , शुक्रबार 15, November 2025, Saturday

आठ महिनामा साढे ११ खर्बको आयात, नौ खर्ब ८७ अर्ब व्यापार घाटा

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८१ चैत ७ गते बिहीबार

चालु आर्थिक वर्ष २०८१–०८२ को आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

विभागका अनुसार यो गत आर्थिक वर्षको तुलनामा ११.२० प्रतिशत बढी हो । गत आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अघिल्लो आठ महिनाको तुलनामा निर्यात समेत बढेको छ ।

फागुनसम्मको तथ्यांक अनुसार एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ५७.२० प्रतिशत बढेको छ । आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटा समेत बढेको छ ।

विभागका अनुसार आठ महिनाको अवधिमा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ व्यापार घाटामा छ । यो गत आर्थिक वर्षको तुलनामा ६.२२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको आठ महिनामा नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा थियो ।

सात हजार विद्युतीय गाडी आयात

चालु आर्थिक वर्ष २०८१–०८२ को आठ महिनामा सात हजार विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म ७ हजार ८९ वटा विद्युतीय गाडी नेपाल भित्र्याइएको हो । यी गाडीको आयात मूल्य १६ अर्ब ६४ करोड ९६ लाख ९६ हजार रुपैयाँ छ ।

यसबाट सरकारले १० अर्ब २२ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आयात गरिएकामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका तीन हजार ८७९ गाडी छन् । यस्तै, ५० किलोवाटसम्मका दुई हजार ५३१२ ईभी भित्र्याइएको छ । यसअवधिमा ५० किलोवाटसम्म क्षमता भएका नौवटा एसेम्बल नगरिएका गाडी आयात गरिएको छ ।

करिब २२ अर्बका १४ लाख स्मार्टफोन आयात

चालु आर्थिक वर्ष २०८१–०८२ को आठ महिनामा करिब २२ अर्ब रुपैयाँका स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात गरिएको हो ।

यसबाट सरकारले चार अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । फागुन मसान्तसम्म एक अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल एवं वायरलेस सञ्चारका उपकरण भित्र्याइएको छ । यसबाट सरकारले २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत ७ गते बिहीबार