तपाइँ आफ्ना छोराछोरीले दैनिक गर्ने आनिबानी एवं गतिविधिका बारेमा सचेतता अपनाइरहनु भएको छ, छैन ? छोराछोरीले गर्ने व्यवहार एवं आनिबानीका बारेमा सचेतता अपनाउनु भएको छैन भने उनीहरूमध्ये धेरै कुलतमा फसिरहेका हुनसक्छन् । पढ्न जाने वा घर बाहिरको कामगर्न जाने बहानामा कुलतमा फसेका साथीभाईको सङ्गतमा लागेर धेरै युवा एवं वयस्क व्यक्ति लागुऔषधको कुलतमा फसिरहेका घटना बढ्दै गएका छन् ।
यीमध्ये कतिपय युवती पनि यस्तो कुलतमा फस्ने गरेको पाइएको छ । दिनैपिच्छे कैलाली सहितका जिल्लामा प्रहरी टोलीले लागुऔषधसहित विभिन्न व्यक्ति धमाधम पक्राउ पर्न थालेका पनि छन् । लागुऔषधको सेवन र ओसारपसारमा फस्नेमध्ये अधिकांश युवा फेला पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । यसको सेवन तथा ओसारपसारका घटना डरलाग्दो रूपमा फैलिँदै गएको देखिए पनि यो समस्याका बारेमा समाजमा खास चासो र चिन्ता व्यक्त गरिएको देखिँदैन ।
यसका कारण लागुऔषधको समस्या न्यूनीकरण हुनुको साटो बढ्दै गएको घटनाक्रमले देखाएको छ । युवाहरू लागुऔषध दुर्व्यसनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखवरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको अनुभव छ । यो समस्याको समाधानका लागि प्रहरीले प्रयास गरिरहे पनि न्यूनीकरण हुन सकिरहेको छैन । कैलाली जिल्लामा एकैदिन १२ जनासम्म लागुऔषधसहित पक्राउ परेको तथ्याङ्क छ ।
पक्राउ पर्नेहरूबाट खैरो हिरोइन, नाइट्राभेट, नाइट्रजपाम, चरेश, स्पास्मो, ब्राउन सुगर, कोडेक्स, ट्रमाडोलजस्ता लागु औषध बरामद हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्का अर्काको देखिसेकी, घरपरिवारको बिग्रेको माहोल, छोराछोरीप्रति अभिभावकले गर्नुपर्ने निगरानीमा कमीकमजोरी, सामाजिक सञ्जालको दुरूपयोग, गलत साथीसङ्गत, लागुऔषध सेवनको उत्सुक्ता जग्नुजस्ता कारणले धेरै युवाहरू कुलतमा फस्दै गएको बताउँछन् ।
उनले भने, ‘भारतसँगको खुला सीमाका कारण पनि लागु औषधको ओसारपसार र सेवनको समस्या बढ्दै गएको छ, समाजमा हुने चोरी, डकैति, लुटपाटजस्ता अपराधिक घटनामा कुनै न कुनैरूपमा लागुऔषधमा फसेकाको हात हुने गरेको देखिन्छ ।’ समाजमा बेलाबखत हुने गरेका अपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनै रूपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनुवामा पर्नेमध्ये ७० प्रतिशत लागुऔषधको मुद्दाका हुने गरेको जनाइएको छ । लागुऔषधको कारोवारी र सेवनकर्तालाई पक्राउ गर्न प्रहरीले बेलबखत ‘कर्डन एण्ड स्विप अप्रेशन’ (घेर्ने र बढार्ने) अभियान चलाउने गरेको पनि छ । प्रहरीले लागुऔषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयासमा गरिरहेको छ ।
‘बढी सङ्ख्यामा २० देखि ३० वर्ष उमेर समूहका युवा यस्तो कुलतमा फस्ने गरेको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्काले थपे, ‘अभिभावकले आ–आफ्ना छोराछोरीको आनिवानीका बारेमा सचेतता आपनाउन निकै जरूरी भइसक्यो ।’ नेपाल–भारतबीचको खुला सीमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ । सीमापारी भारतीय बजारमा त्यहांँका व्यापारीले निर्वाध रूपमा लागुऔषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले लागुऔषधका मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा लागु औषधका २०० एक मुद्दा दर्ता भएकोमा आव २०७९–०८० सम्म आइपुग्दा यो सङ्ख्या बढेर ३४७ पुगेका थिए । यस्तै आव २०८०–०८१ मा ३१५ मुद्दा दर्ता भएकोमा चालु वर्ष २०८१–०८२ को माघसम्म २६९ मुद्दा पुगेका छन् । चालु वर्षको माघसम्म दर्ता भएका लागुऔषधका मुद्दामा ३६५ पुरूष र २२ महिला पक्राउ परेको जनाइएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा ४४७ जना पक्राउ परेका थिए ।
लागुऔषधको ओसारपसार र सेवनक्र्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि बेलाबखत प्रहरीले विद्यालयमा अध्ययरत छात्रछात्राका लागि छुट्टै कक्षा सञ्चालन गरेर चेतना अभिवृद्धि गराउने गरेको छ । लागुऔषधको सेवनबाट अधिकांस किशोर किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी चेतनामूलक कार्यक्रम थालिएको प्रहरीको भनाइ छ । यसका लागि प्रहरीले विद्यालय सञ्चालकसँगको समन्वयमा विद्यार्थीको छुट्टै कक्षामार्फत् यस्तो चेतना अभिवृद्धि सम्बन्धी प्रशिक्षण दिने गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुदूरपश्चिम