सूचनाको शक्ति - The Power Of Information

        

जो दलाललाई झोला भरी पैसा बुझाएर अमेरिका पुगे, ट्रम्पले रित्तो हात लखेटे !

अमेरिका जाने सपना हजारौँ तथा लाखौँको हुन्छ । नेपाली मात्रै नभएर संसारका जुनसुकै देशका नागरिकको लागि पनि अमेरिका सपनाको देश हो । अमेरिका भौतिक र आर्थिक उन्नतिमा मात्र माथि छैन विज्ञान, व्यवस्थापन र अरू विविध विधामा पनि अग्रस्थानमा छ ।

अमेरिकालाई दुस्मन ठान्नेदेखि प्रतिस्पर्धामा उत्रिएका विश्वका मुलुकहरूले समेत अमेरिकाको अर्थतन्त्र र विकासलाई पछ्याइरहेका छन् । ती देशका नागरिकका लागि पनि अमेरिका सपनाको देश मानिन्छ । अमेरिका जाने सपना खास गरी नयाँ पुस्ताको मोह अति उच्च छ ।

अमेरिका जान कतिसम्म मरिहत्ते गर्छन् भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणले प्रस्ट पार्छ । चर्को ब्याजमा ६०–७० लाख ऋण लिएर अवैध बाटोबाट अमेरिका जाने थुप्रै नेपालीहरू छन् । उच्च ओहदाधारी सरकारी कर्मचारी, खेलाडी, सेलिब्रेटी र राजनीतिज्ञ पनि अमेरिका जान भनेपछि मरिहत्ते गर्छन् ।

अमेरिकालाई साम्राज्यवादी भन्दै गाली गरेर नथाक्ने नेतासमेत मौका मिले कुलेलम ठोक्छन् । अमेरिका भिसा पाए सजिलै छिर्छन्, नपाए अवैध बाटो रोज्छन् । वैधानिक बाटोबाट जान नपाउनेहरू खर्चिलो र कष्टकर बाटोबाट महिनौँ लगाएर अमेरिका पुग्ने गरेका छन् ।

मानव तस्करलाई लाखौँ बुझाएर अवैध बाटोबाट जाने कतिपय बीच बाटोमै अलपत्र पर्छन् भने कोही नारकीय यात्राको यातना खप्न नसकेर बाटैमा मर्छन् । कोही भने ऋणको गुन्टा बोकेर महिनौँको कष्टकर यात्रा पछि अमेरिका पुग्छन् । तर, त्यसरी अवैध बाटोबाट अमेरिका पुग्नेहरूलाई अमेरिकाले धमाधम डिपोर्ट गर्न थालेको छ ।

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि अवैध रूपमा बस्दै आएकाहरूलाई निष्कासित गर्न थालिएको हो । बुधवार मात्रै एक महिलासहित आठ नेपालीलाई अमेरिकाले चार्टर जहाजमार्फत काठमाडौँ ल्याएर छाडिदिएको छ ।

डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान भने खुलाइएको छैन । मानव तस्करलाई झोलाभरि पैसा बुझाएर सपनाको देश अमेरिका पुगेकाहरू रित्तो हात देश फर्कनु परेको छ, त्यो पनि अनुहार लुकाउँदै ।

उनीहरुमाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ  । यसअघि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक जना नेपाली फर्काइएका थिए ।

तीमध्ये तीन जना नेपालीलाई पानामा डिपोर्ट गरिएको थियो, तर उनीहरूलाई पानामा पुर्याउनुको कारण खुल्न सकेको छैन । अवैध आप्रवासीलाई निष्कासन गर्ने निर्णय गरेसँगै गैरकानुनी ढंगले अमेरिकामा बस्दै आएका नेपालीहरू त्यहाँको सुरक्षाकर्मीको निगरानीमा परेका छन् ।

प्रहरीको निशानामा पर्न थालेपछि उनीहरूमा त्रास बढेको छ । अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । यो सूचीमा एक हजार ३६५ जना नेपाली रहेका छन् ।

कागजविहीन अवस्थामा रहेकाहरू त ढिलो चाँडो नेपाल फर्कनु नै पर्छ भनेर ढुक्कै छन् तर विभिन्न श्रेणीको कागजी अवस्थामा रहेका नेपालीहरूमा रहेको मानसिक डर अझ डरलाग्दो छ । उनीहरू आउँदो चार वर्ष कसरी कटाउने भनेर एक किसिमको छटपटीमा छन् ।

अमेरिकाले अवैध बस्दै आएकाहरूलाई धमाधम डिपोर्ट गर्न थालेपछि मानव तस्करीको ढोक्सा थापिरहेकाहरूलाई पनि आपत् परेको छ । तल्लो बाटोका लागि मानव तस्करहरूलाई बैना दिइसकेकाहरू अब कसरी फिर्ता गर्ने भन्ने चिन्तामा छन् । अमेरिका पुगेको सपना देखिरहेकाहरूलाई बिचैमा ऐँठनमा परेका छन् ।

बीच बाटोमा पुगेकाहरू अलपत्र परेका छन् । फर्काउन लागिएकाका आफन्तहरू कहिले आइपुग्छन् भनेर हातका औँला भाँच्दै दिन गनिरहेका छन् । परिस्थिति यति पेचिलो बनेको छ कि के गर्ने ? कसो गर्ने ? केही नै सोच्न सक्ने अवस्था छैन । तत्कालका लागि यो अभिशाप देखिए पनि प्रकारान्तरमा यो वरदान पनि हुनसक्छ ।

किनकि, संसारमा अनेकौँ समस्याका अजंग पहाडहरू सम्याएर समाधानका मैदानहरू बनाइएका अनेकौँ उदाहरणहरू छन् । मानव तस्करलाई लाखौँ बुझाएर अमेरिकाजस्तै अरू विकर्सित देश जान सपना देख्नेहरूको लागि आफ्नै देशका केही गर्नुपर्छ पाठ सिकाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ०७:१९

लोकप्रिय