सूचनाको शक्ति - The Power Of Information

        

अवैध नदीजन्य पदार्थ बोक्ने टिप्पर प्रहरी नियन्त्रणमा

बाँकेमा नदीजन्य पदार्थको अवैध दोहोन र ओसारपसार बढेको छ । बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदीको सिधनियाघाट छेउबाट ठुलो परिमाणमा नदीजन्य पदार्थहरु बालुवा र गिट्टीको अवैध दोहन र ओसारपसार गर्ने दुई टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो गुनासो स्थानीयले गरिरहेकै बेला प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई वटा टिप्परलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले डुडुवा गाउँपालिका–५ स्थित मिलनचोकबाट अवैध रूपले नदीजन्य पदार्थ लोड गरेर आउँदै गरेका भे. १ क. १८१६ र भे १ क १८६१ नम्बरका टिप्परलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताए । उनले नदीजन्य पदार्थको अवैध रूपमा ओसारपसार गरिरहेको पाइएपछि दुई वटा टिप्परलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

नियन्त्रणमा लिइएको टिप्परमध्ये भे. १ क. १८६१ नम्बरको टिप्परमा बाबा स्टोन क्रेसर लेखिएको जनाउँदै सो टिप्पर कसको हो सो बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाँकेका विभिन्न खोला र नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन, ओसार पसार र विक्री गर्ने कार्य लामो समयदेखि हुँदै आएको र सो रोक्न सम्बन्धित निकायले निकै कम चासो लिने गरेको स्थानीय अगुवाको भनाइ छ ।

नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले राप्ती नदीबाट नेपालगन्ज आउने सडकमा ठाउँ–ठाउँमा प्रहरी, ट्राफिक प्रहरी र अन्य विभिन्न उपल्लो युनिटका सादा पोशाकका सुरक्षाकर्मीहरू तैनाथ रहे पनि लामो समयदेखि निर्वाध रूपमा नदीजन्य पदार्थको अवैध ओसार पसार र बिक्री नरोकिनु आश्चार्यको विषय भएको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ०६:५४

लोकप्रिय