नेपाल प्रहरीमा एकैपटक ६ जना अतिरिक्त महानिरीक्षकको दरबन्दी रिक्त हुने भएको छ । आगामी चैत ५ गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ५ जना एआइजी पनि अवकाश हुने भएका छन् । बाँकी रहेका तीन एआइजीमा एकजना आइजीपी बन्ने भएकाले एकसाथ ६ जना एआइजी बढुवाको ढोका खुल्ने भएको हो ।
नेपाल प्रहरीको जनपदतर्फका ८ एआइजीमध्ये प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख दीपक थापा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मात्रै सेवामा रहनेछन् । यी मध्येबाट एकजनाले चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गर्नेछन् ।
अरु एआइजीहरू प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र जनकराज भट्टराई कुँवरसँगै अवकाश हुनेछन् । बाँकी रहेका डीआइजीहरूमा पनि सिनियर तीनजना अवकाश हुनेछन् । आइजीपी कुँवरकै ब्याचका गणेश चन्द, भोलाबहादुर रावल र ध्रुवबहादुर राउत पनि अवकाश हुनेछन् ।
नेपाल प्रहरीमा अब रिक्त हुने ६ जना एआइजीका लागि तीन ब्याचका डीआइजीहरू प्रतिस्पर्धामा छन् । भर्ना हुँदा नै तीन ब्याचका उनीहरू एसएसपीबाट डीआइजी पनि तीन चरणमै बढुवा भएका थिए । तीमध्ये सबैभन्दा सिनियर तीनजना छन् । चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल ।
उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । खापुङ र आचार्य २०७९ चैत ३० गते डीआइजीमा बढुवा भएका हुन् । शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआइजी भए । खापुङ अहिले सीआइबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन् । यी तीनै जना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका हुन् ।
वैकल्पिक सूचीमा रहेका उनीहरू साढे ७ महिनापछि मात्रै भर्ना भए । संसदमा पेस भइसकेको प्रहरी विधेयक आगामी भदौ १९ सम्ममा पारित भएर कार्यन्वयनमा आएन भने उनीहरूमध्ये एकजना प्रहरी महानिरीक्षक बनेर २ महिना संगठनको नेतृत्व गर्ने अवसर पनि पाउनेछन् । चैत ५ गतेपछि रिक्त हुने एआईजीमा उनीहरू तीनजनाको सबैभन्दा बलियो सम्भावना छ ।
त्यसपछि शर्मासँगै डीआइजीमा बढुवा भएका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीको एआइजी बन्ने सम्भावना छ । उनीहरू डीआइजीमा सिनियर भए पनि भर्नामा भने अगाडि अर्को ब्याच छ । तर लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्की र कोसी प्रदेश प्रहरी प्रमुख राजन अधिकारी भने चैत ५ पछि एआइजीमा बढुवा हुने सम्भावना बलियो छ ।
उनीहरूसँगै डीआइजी बनेका राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डीआइजी मनोज केसी अहिलेको बढुवामा छुट्ने सम्भावना छ । उनी छुट्दा २०५२ को टोलीबाट एआइजी बन्नेछन् । त्यो टोलीबाट सिद्धिविक्रम शाह एआइजी बन्ने सम्भावना देखिन्छ । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको सिद्धिविक्रम शाहसहितको टोली पनि एआइजीको बलियो प्रतिस्पर्धी हो । तर यो टोलीबाट एकजना मात्रै एआइजी बन्ने सम्भावना अहिले देखिएको छ ।
त्यसमा बलियो प्रतिस्पर्धी पहिलो नम्बरका शाह नै हुन् । उनी एसएसपीसम्म २०५४ सालमा भर्ना भएको टोलीभन्दा अगाडि थिए । तर डीआइजी बढुवामा आइजीपी कुँवर र तत्कालीन गृहमन्त्री रवि लामिछानेले यो टोलीलाई नै छुटाएर बढुवा गरेका थिए । शाहसहित उनको ब्याचका ५ जना २०८१ मंसिरमा डीआइजीमा बढुवा भए । उनीसँगै बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि एआइजीको लागि लबिङमा छन् ।
एसएसपीमा अन्याय भएको भन्दै एआइजीमा दानबहादुर कार्कीसहितको टोलीलाई छाडेर बढुवा हुनु पर्ने उनीहरूको तर्क छ । तर दानबहादुर कार्कीसँगै बढुवा भएका मनोज केसीको अहिले एआइजी बन्ने सम्भावना कमजोर छ । यो सरकारले उनलाई सुरुदेखि नै रुचाएको छैन । सरकार बनेलगतै उनलाई विशेष ब्युरोबाट हटाइएको थियो । उनीसँगै बढुवा भएका कार्की र अधिकारीले प्रदेश प्रमुखको जिम्मेवारी पाए । तर केसी भने प्रहरी प्रतिष्ठानमै थन्किए ।
अब पनि उनलाई छुटाएर विशेष ब्युरोका सिद्धिविक्रम शाहलाई बढुवा गर्ने सम्भावना बलियो छ । यसपछि २०८१ पुसमा डीआइजी बनेका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि एआइजीका दाबेदार हुन् । तर अहिले उनीहरू एआइजी बन्ने सम्भावना कम छ । उनीहरू सबै २०५४ साल चैत १८ मा भर्ना भएका हुन् । यसपटक एआइजी बन्ने होडले भावी नेतृत्वमा पुग्ने अधिकारीहरूको समेत संकेत गर्नेछ । यो टोलीबाट अहिलेकै अवस्थामा एआइजी बनेको आठ महिनापछि नेतृत्वमा पुग्ने अवस्था छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं