२०८३ वैशाख १० , बिहीबार 24, April 2026, Friday

स्याङ्जाको चापाकोटमा कुकुरको बन्ध्याकरण गरिँदै

सत्यपाटीसत्यपाटी । स्याङ्जा । २०८१ फागुन २१ गते बुधबार

स्याङ्जाको चापाकोट नगरपालिकामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । चापाकोट नगरपालिका कार्यालय र भेटेरीनरी अस्पताल पशुविज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा कुकुरको बन्ध्याकरण गर्न थालिएको हो ।

यो अभियान मार्फत चापाकोट नगरपालिकाभित्रका २३० वटा सामुदायिक तथा घरपालुवा कुकुरको बन्धाकरण गरिएको हो । ‘अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ’ भन्ने मूल नाराका साथ ३ दिने निशुल्क सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नेगरी अभियान सञ्चालन गरेको नगरप्रमुख देबबहादुर खाँणले जानकारी दिए ।

सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिज रोगको नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख खाँणले बताए । सामुदायिक तथा घरपालुवा कुकुरका कारण समस्या बढेपछि नगरपालिकामा बन्ध्याकरण गर्न थालिएको खाँणको भनाइ छ ।

नगरपालिका भित्रका विभिन्न ठाउँबाट सामुदायिक तथा घरपालुवा कुकुर ल्याएर कार्यालयमै बन्ध्याकरण गरीएको र उपचारसँगै कुकुरलाई रेबिजविरुद्ध खोप लगाउँदा नगरपालिकामा सामुदायिक कुकुरको व्यवस्थापनमा सहयोग पुग्ने चापाकोट नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार