इन्सुलिन ‘रेजिस्टेन्स’ अर्थात् प्रतिरोधको चर्चा आजकल धेरै भइरहेको छ । यसबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा धेरै चर्चा हुने गरेको छ । इन्सुलिन प्रतिरोधका बारेमा पुस्तक पनि प्रकाशित भइरहेका छन्, भिडियोहरू बनिरहेका छन्, जसमा विशेष व्यायाम र खानपानबाट सन्तुलन मिल्ने दाबी गरिएको पाइन्छ ।
मानिसले यसतर्फ पनि ध्यान दिइरहेका छन् किनभने इन्सुलिन प्रतिरोधले टाइप २ मधुमेहसहित धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ । यस्तो अवस्थामा, इन्सुलिन प्रतिरोधको बारेमा बुझ्न पर्ने हुन्छ । इन्सुलिन प्रतिरोध कसरी हुन्छ ? यसका लक्षणहरु के के हुन् ? यसलाई ठिक गर्न सकिन्छ ?
इन्सुलिन प्यान्क्रियाजमा उत्पादन हुने महत्वपूर्ण हर्मोन हो । यसले रगतमा ग्लुकोज नियन्त्रण गर्ने काम गर्छ । यदि प्यान्क्रियाजले धेरै कम इन्सुलिन उत्पादन गर्छ वा शरीरले इन्सुलिनलाई सही रूपमा प्रयोग गर्न सक्दैन भने धेरै स्वास्थ्य समस्याहरू निम्तन सक्ने मधुमेह, हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।
हामीले खाने खानालाई शरीरले अन्ततः ग्लुकोजमा परिणत गर्छ । ग्लुकोज हाम्रो शरीरका लागि आवश्यक ऊर्जाको प्राथमिक स्रोत हो । त्यसपछि यो ग्लुकोज हाम्रो रगतमा जान्छ र प्यान्क्रियाजलाई इन्सुलिन निकाल्न सङ्केत गर्ने भट्टराई बताउँछन् ।
‘इन्सुलिनले रगतबाट ग्लुकोज मांसपेशी, बोसो र कलेजोका कोशिकाहरूमा पठाउन मद्दत गर्छ, जसले गर्दा शरीरले यो ग्लुकोजलाई ऊर्जाको लागि प्रयोग गर्न वा पछि प्रयोगको लागि भण्डारण गर्न सक्छ,’ डा.भट्टराई भन्छन्, ‘जब ग्लुकोज कोषहरूमा प्रवेश गर्छ, रगतमा यसको स्तर घट्छ । यसले प्यान्क्रियाजलाई इन्सुलिन उत्पादन गर्न बन्द गर्न सङ्केत गर्छ ।’
भट्टराई भन्छन्–इन्सुलिन प्रतिरोध एक जटिल प्रक्रिया हो । यो तब हुन्छ जब मांसपेशी, बोसो र कलेजो कोशिकाहरूले इन्सुलिनलाई राम्रोसँग प्रतिक्रिया गर्दैन । यसको कारण, कोशिकाहरूले रगतबाट ग्लुकोजलाई प्रभावकारी रूपमा अवशोषित वा भण्डारण गर्न रोक्ने उनले बताए ।
‘प्यान्क्रियाजले रगतमा ग्लुकोजको मात्रा कम गर्न इन्सुलिन बढी उत्पादन गर्छ । यो अवस्थालाई हाइपरइन्सुलिनिमिया भनिन्छ,’ भट्टराई भन्छन् ‘जबसम्म प्यान्क्रियाजले कोशिकाको कमजोर प्रतिक्रियालाई जित्न पर्याप्त इन्सुलिन उत्पादन गर्छ, रगतमा चिनीको स्तर सीमित रहन्छ ।’ यदि इन्सुलिनप्रति कोषहरूको प्रतिरोध बढ्छ भने, रगतमा ग्लुकोजको स्तर पनि बढ्छ ।
रगतमा ग्लुकोजको मात्रा बढ्दा टाइप २ मधुमेह लगायत अन्य धेरै रोगको जोखिम बढ्ने उनले जानकारी दिए । डा.भट्टराईका अनुसार इन्सुलिन प्रतिरोध एक जटिल अवस्था हो, जुन वंशाणुगत, जीवनशैली र वातावरणीय कारणले प्रभावित हुन्छ । इन्सुलिन प्रतिरोधको कारण व्यक्तिपिच्छे फरक हुनसक्छ ।
मोटोपना – मोटोपना, विशेषगरी पेटको बोसो, इन्सुलिन प्रतिरोधसँग प्रत्यक्षरूपमा सम्बन्धित छ ।
शारीरिक श्रममा कमी – नियमित शारीरिक परिश्रम नगर्दा पनि इन्सुलिन प्रतिरोधको जोखिम बढ्न सक्छ ।
वंशाणुगत कारण – केही मानिसहरू वंशाणुगत रूपमा इन्सुलिन प्रतिरोधका लागि पूर्वप्रभावित हुन्छन् ।
खराब आहार – प्रशोधित खाना, परिष्कृत कार्बोहाइड्रेट र धेरै चिनीयुक्त आहारले इन्सुलिन प्रतिरोधी हुनसक्छ । यस्ता आहारले रगतमा ग्लुकोजको मात्रा द्रुत रूपमा बढाउन सक्छ, जसले इन्सुलिनको उत्पादन बढाउन सक्छ ।
दीर्घकालीन तनाव – कोर्टिसोलजस्ता तनाव हार्मोनले रगतमा ग्लुकोजको स्तरलाई नियमित गर्न इन्सुलिनको क्षमतामा हस्तक्षेप गर्न सक्छ, जसले इन्सुलिन प्रतिरोध निम्त्याउँछ ।
निद्रामा गडबडी – निद्राको कमी वा कम निद्राले इन्सुलिन संवेदनशीलतालाई असर गर्न सक्छ । इन्सुलिन संवेदनशीलताले शरीरका कोषहरूले रगतमा पाइने ग्लुकोजलाई कति राम्रोसँग प्रयोग गर्छ भनी बताउँछ । निद्राको कमीले शरीरमा हर्मोनको स्तरमा बाधा पुग्छ । जसले इन्सुलिन प्रतिरोधको समस्या निम्त्याउन सक्छ ।
केही चिकित्सकीय अवस्था – पिसीओएस, हर्मोनल विकार र फ्याटी लिभर रोगले पनि इन्सुलिन प्रतिरोधको जोखिम बढाउँछ ।
बढ्दो उमेर – उमेर बढ्दै जाँदा मानव शरीरका कोषहरूको प्रतिक्रिया कम हुनसक्छ । यसले इन्सुलिन प्रतिरोधको जोखिम बढाउँछ ।
उपवास – मधुमेहमा उपवास बस्नु फाइदाजनक नहुने पोषणविद् अनुश्री आचार्य बताउँछिन् । ‘यसले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या निम्त्याउन सक्छ,’ आचार्य भन्छिन्, ‘त्यस्ता व्यक्तिले चिकित्सकसँग परामर्श लिएर मात्र उपवास बस्नु राम्रो हुन्छ ।’
आचार्यका अनुसार उपवासको प्रभाव हरेक व्यक्तिमा फरक–फरक हुनसक्छ । इन्सुलिन संवेदनशीलता र मेटाबोलिज्ममा उपवासको प्रभाव व्यक्तिको उमेर, लिङ्ग, स्वास्थ्य, आहार र शारीरिक गतिविधि जस्ता कारकहरूमा निर्भर गर्दछ ।
मधुमेह र अन्य पाचन सम्बन्धी समस्या भएका व्यक्तिले उपवास बस्दा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु पर्ने उनको भनाइ छ । ‘डाक्टरको सल्लाह अनुसार उपवास बस्ने कि नबस्ने निर्धारण गर्नुपर्छ,’ उनी भन्छिन्, ‘उपवाससँगै राम्रो खाने बानी अपनाउनु धेरै महत्त्वपूर्ण हुन्छ ।’
इन्टरमिटेन्ट फास्टिङले संसारभरका मानिसहरूको ध्यान आकर्षित गरेको छ । धेरै डाक्टर र पोषण विशेषज्ञले यसको स्वास्थ्य लाभहरूको बारेमा कुरा गरिरहेका छन् । यसमा लामो समयसम्म भोकै बस्नु, खानाको पटक घटाउनु, दिनभर वा हरेक हप्ता धेरै नखानु आदि समावेश हुने आचार्यले बताइन् ।
केही चिकित्सा अनुसन्धानले पत्ता लगाएको छ कि, कहिलेकाहीँ उपवास बस्नाले पाचन प्रणालीमा सकारात्मक प्रभाव पार्छ । तर, यो उपवास सबैका लागि उपयुक्त छैन र प्रत्येक व्यक्तिको आधारमा आहार निर्धारण गर्न उनी सुझाउँछिन् ।
‘अर्को प्रश्न यो पनि उठ्छ कि जीवनभर यो फास्टिङ गर्न सकिन्छ ? यदि कसैले १५ किलो वजन घटाउन चाहन्छ र त्यसका लागि उसले खाना खान बन्द गर्छ भने खान छोड्दा सम्म त उसको वजन घट्ला । तर, खान थालेपछि वजन पुन बढ्न सक्छ,’ आचार्य भन्छिन् । यस्ता उपवासका बारेमा धेरै अनुसन्धान भइरहेको उनको भनाइ छ ।
केही अध्ययनले यसले इन्सुलिन संवेदनशीलता सुधार गर्न मद्दत गर्न सक्ने देखाएको उनले बताइन् । आचार्यका अनुसार २०१५ मा सेल मेटाबोलिज्म जर्नलमा प्रकाशित अनुसन्धानले मोटो नभएका मानिसमा हरेक दिन उपवास बस्दा शरीरको तौल परिवर्तन नगरीकन इन्सुलिनको संवेदनशीलतामा सुधार हुन्छ भनेको छ । इन्टरमिटेन्ट फास्टिङले तौल घटाउन सक्छ, जुन सुधारिएको इन्सुलिन संवेदनशीलता र पचन प्रक्रियासँग जोडिएको हुने आचार्यले बताइन् ।
प्रारम्भिक चरणहरूमा इन्सुलिन प्रतिरोधका लक्षणहरू कम देखिने डा. भट्टराई बताउँछन् । डा.भट्टराईका अनुसार लक्षणहरूमा बढ्दो भोक, थकान, तौल घटाउन कठिनाइ, छालामा काला दागहरू देखिने (विशेष गरी घाँटी, काखी वा कम्मरको वरिपरि) हुन्छन् ।
त्यसैगरी उच्च रक्तचाप, उच्च ट्राइग्लिसराइड (रगतमा बोसोको मात्रा), कम एचडीएल कोलेस्टेरोल (राम्रो खाले कोलेस्टेरोल) र पोलिसिस्टिक ओभरी सिन्ड्रोम देखिन्छ । यदि टाइप २ मधुमेह इन्सुलिन प्रतिरोधको कारण हुन्छ र रगतमा चिनीको स्तर छिटो बढ्छ भने, व्यक्तिले अन्य लक्षणहरू पनि अनुभव गर्न सक्छन् ।
यसमा बारम्बार पिसाब लाग्नु, अत्याधिक तिर्खा लाग्नु र धमिलो दृष्टि आदि हुन सक्ने जानकारी दिए । लक्षण व्यक्तिपिच्छे फरक–फरक हुन सक्ने डा. भट्टराई बताउँछन् । ‘इन्सुलिन प्रतिरोधी क्षमता भएका सबै व्यक्तिमा यी सबै लक्षणहरू हुन्छ भन्ने छैन,’ डा.भट्टराई भन्छन्, ।
उनका अनुसार यी लक्षण अन्य स्वास्थ्य समस्याका सङ्केत पनि हुन सक्छ, त्यसैले यो बारे डाक्टरसँग परामर्श गर्नुपर्छ । टाइप २ मधुमेह र हृदय रोग जस्ता जटिलताबाट बच्नका लागि इन्सुलिन प्रतिरोध चाँडै पत्ता लगाउन र व्यवस्थापन गर्न आवश्यक भएको डा.भट्टराई बताउँछन् ।
इन्सुलिन प्रतिरोधी क्षमता भएका लगभग ७० देखि ८० प्रतिशतले समयमा उपचार र व्यवस्थापन नगरे अन्ततः टाइप २ मधुमेह हुनसक्ने डा.भट्टराई बताउँछन् । ‘यो वंशाणुगत, मोटोपना, शारीरिक निष्क्रियता, आहार, उमेर र प्रजाति जस्ता धेरै कारकहरूमा निर्भर हुन्छ ’ डा. भट्टराई भन्छन् ।
ग्लाइसेमिक इन्डेक्स एक प्रणाली हो । यो खानेकुरा खाएपछि रगतमा चिनीको मात्रा कति छिटो वा ढिलो बढ्छ भन्ने आधारमा विभाजन गरिने डा. भट्टराईले बताउँछन् । ‘ग्लाइसेमिक इन्डेक्सबाट हामीले कुनै पनि खानेकुरा खाएपछि हाम्रो रगतमा चिनीको मात्रा कति छिटो, मध्यम वा ढिलो हुन्छ थाहा पाउन सक्छौँ,’ उनी भन्छन् ।
उनका अनुसार कार्बोहाइड्रेट, जुन बिस्तारै टुक्रिन्छ यसलाई कम ग्लाइसेमिक सूचांक मानिन्छ । यसमा केही तरकारी, फलफूल, दूध र सम्पूर्ण अन्नहरू समावेश हुने डा. भट्टराईले जानकारी दिए । डा.भट्टराईका अनुसार ‘चिनी, गुलियो खाना र पेय पदार्थ, सेतो आलु र सेतो चामल उच्च ग्लाइसेमिक इन्डेक्स भएका खाना मानिन्छ । जसका कारण रगतमा चिनीको मात्रा द्रुत गतिमा बढ्छ ।
तर, कुनै पनि खानेकुरा स्वास्थ्यका लागि राम्रो हो वा होइन, ग्लाइसेमिक इन्डेक्सले मात्रै निर्धारण गर्न नसकिने उनले बताए । उदाहरणका लागि, धेरै चकलेटहरूमा कम ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, तर क्यालोरीमा उच्च हुन्छ । ‘उच्च ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरा खराब नै हुन्छ भन्ने जरुरी छैन,’ डा.भट्टराई भन्छन्, ‘खरबुजा जस्ता धेरै फलहरूमा उच्च ग्लाइसेमिक इन्डेक्स हुन्छ, तर यी फलहरू लाभदायक हुन्छ।’ हाम्रो ध्यान स्वस्थ र सन्तुलित आहारमा हुनुपर्ने उनको भनाइ छ ।
इन्सुलिन प्रतिरोध नियन्त्रण गर्न जीवनशैली परिवर्तन र केही औषधिको सेवन गर्न सकिन्छ । साथै खानपानमा पूर्ण ध्यान दिनुपर्छ । धेरै गुलियो खानबाट जोगिनुपर्छ । स्टार्चयुक्त खाना कम गर्नुपर्ने डा. भट्टराई बताउँछन् ।
‘नियमित व्यायाम गर्नुपर्छ । यसले तौल घटाउन मद्दत गर्न सक्छ, विशेष गरी पेट वरपरको बोसो घटाउनमा,’ डा.भट्टराई भन्छन्, ‘यसले इन्सुलिनको संवेदनशीलतालाई पनि सुधार गर्न सक्छ ।’ तनावमा पनि ध्यान दिनुपर्छ । ध्यान, योग, गहिरो सास फेर्ने अभ्यास वा प्रकृतिमा समय बिताउने जस्ता विधि अपनाउनु फाइदाजनक हुनसक्छ ।
साथै राम्रो निन्द्रा पनि त्यत्तिकै महत्वपूर्ण हुने उनले बताए । मेटफर्मिन जस्ता औषधिले इन्सुलिन प्रतिरोध र सम्बन्धित अवस्थाहरू जस्तै टाइप २ मधुमेह कम गर्न मद्दत गर्दछ । तर, कुनै पनि औषधिले इन्सुलिन प्रतिरोधी क्षमतामा कत्तिको मद्दत गर्छ भन्ने जान्नका लागि डाक्टरसँग परामर्श लिनु जरुरी हुने डा. भट्टराईको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सुमित्रा लुइटेल । काठमाडौं