२०८३ वैशाख १० , बिहीबार 24, April 2026, Friday

कुलमानलाई विपक्षी दलहरुको साथ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ फागुन २१ गते बुधबार

नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभाबाट सरकारलाई खबरदारी गरेका छन् ।

घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषयमा तीन पार्टीले संसद्मा प्रश्न उठाएका हुन् । बुधबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कदमको विरोध गरे ।

पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ, विद्युत प्राधिकरणले राम्रो नाफा गरिरहेको छ, त्यसलाई शून्य अंक दिइएको छ । निरन्तर स्पष्टीकरण सोध्ने कुरा पनि आइरहेको छ, यो आपत्तिजनक छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एउटा कुलमानलाई राज्यले लखेटे हजारौं कुलमान लिएर आउने चेतावनी दिए । उनले भने, ‘राज्यले राम्रो काम गर्ने मान्छेलाई लखेटिरहेको छ । यस्तै हो भने हामी हजारौं कुलमान लिएर आउँछौं ।’

राप्रपाकी सांसद बीना लामाले कुलमानलाई हटाउने सरकारको कोसिसको विरोध गरिन् । उनले भनिन्, ‘यो सरकार गठन भएदेखि नै कुलमानलाई हटाउने भनेर आतंक मच्चाइरहेको छ । यसको मुख्य उद्देश्य के हो ? राम्रो काम गर्नेले यही नियति भोग्नुपर्ने हो ? घिसिङले बुझाएको प्रतिवेदन नबुझ्ने अनि आफैंले अंक दिने यसको जवाफ माग्छु ।’

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिए । सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सडक र सदनबाट विरोध गर्ने चेतावनी दिएका हुन् ।

‘कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदै छ, मन्त्रीपरिषद्को निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुवै ठाउँबाट आवाज उठ्छ,’ सांसद शाहीले भने ।

प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार