कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन् । रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका हुन । घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।
घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ । यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने गरेको मन्त्रालयले जानकारी दिएको छ । चरा र बासस्थान संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा आरक्षको रुपमा पन्छी अभयारण्य क्षेत्र बनाएको छ ।
सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा ८७ मा टेकेर प्रदेश सरकारले २०७९ भदौ ९ गते पन्छी अभयारण्य क्षेत्र घोषणा गरेको थियो । यस आरक्षमा घोडाघोडीसहित २४ वटा ताल रहेका छन् । हरिहाँस, नादुन हाँसले घोडाघोडी तालमामात्रै बच्चा कोरल्ने गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय रामसारमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरु घोडाघोडी जैविक विविधताको एक अभिन्न अवयव रहेकाले चराको संरक्षणका लागि प्रदेश सरकारले पन्छी अभयारण्य क्षेत्र बनाएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए ।
उनले पन्छी अभयारण्य क्षेत्र घोषणापछि प्रदेश सरकारले विभिन्न काम गर्दै आएको जानकारी दिए । चरा आरक्ष घोषणापछि प्रदेश सरकारले पन्छी अभयारण्य कार्ययोजनाको तयारी, चोरी शिकारी नियन्त्रण दल परिचालन, वन हेरालु तथा चोरी शिकारी नियन्त्रण दललाई नेचरगाइड तालिम प्रदानको कार्य गरेको छ । यस्तै, चरा संरक्षण सम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन, चरा संरक्षणका लागि सरोकारवालाबीच समन्वय बैठक बस्ने, चरा गणना लगायतको कार्य भएको श्रेष्ठले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कैलाली