सूचनाको शक्ति - The Power Of Information

        

चर्चामा आउन एसएसपीको आतंक

डिजिटल अपराध बढिरहेका बेला प्रहरीले भने काठमाडौँ उपत्यका लगायतका स्थानमा रहेका केही टोले गुण्डाहरूलाई पक्राउ गर्दा निकै हल्लीखल्ली भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले केही टोले गुण्डालाई पक्राउ गर्दा १० वर्ष अघि जस्तै गुण्डागर्दीको राज चलेको अनुभूत हुने गरी समाचार सम्प्रेषण गरिएको थियो ।

एसएसपी रमेश बस्नेतले कमाण्ड सम्हालेपछि गुण्डाहरूको भागभाग भएको पनि प्रचार गरियो । दीपक मनाङे, चक्रे मिलन, काभे्रली समूह, बाघे, राधे कोही पक्राउ परेकी भन्ने आभाष नै दिइएको थियो । राधे, बाघेहरू निगरानीमा रहेको प्रचार नै गरियो । उनीहरूलाई तर्साउन लाल मोहम्मद हत्या प्रकरणमा जोडिएका गुड्डुलाललाई गोली हानेर पक्राउ पनि गरियो ।

अन्य एसएसपीहरू हुँदा मानौ अपराध बढेको थियो, अझ भनौँ काम भएको थिएन जसरी प्रचार हुँदा एसएसपी बस्नेतको प्रशंसा गर्नेहरू कम थिएनन् । तर यही मेसोमा तरबारले केक काटेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी आतंक मच्चाएका केही टोले गुण्डाहरू पक्राउ परे । उनीहरूको खास कसुर केही थिएन ।

तरबार नचाएर कोही कसैको जन्म दिन मनाएका थिए । तर उनीहरूलाई मुद्दा चलाउने आधार नभेटिएको भन्दै छाडिएको छ । सरकारी वकिलले मुद्दा चलाउन आवश्यक नभएको भन्दै उनीहरूलाई छाडिदिएको हो । अपराध अनुसन्धान कार्यालयको टोलीले गत २३ माघमा सात जनालाई पक्राउ गरेको थियो ।

धादिङको गल्छीका २९ वर्षीय रोमन आले, तनहुँको भानु नगरपालिका–७ का ३६ वर्षीय मनोहर थापा मगर, गोरखाको आरुघाट नगरपालिका–७ का २७ वर्षीय सुमन पराजुली, काभ्रेको रोशी गाउँपालिका–७ का २६ वर्षीय रोशन तामाङ, तनहुँकै भानु–११ का ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखाको आरुघाटका २९ वर्षीय पदमबहादुर मगर र दोलखाको बैतेश्वर गाउँपालिका–३ का ३९ वर्षीय गोपाल मोक्तान पक्राउ परेका थिए ।

उनीहरुलाई मुद्धा चलाउनुपर्ने आधार नभेटिएपछि छाडिएको सरकारी वकिल कार्यालयका एक अधिकारीले बताएका छन् । ‘प्रहरीले प्रमाण नपुर्याइ ल्याएको छ, प्रमाण पुगेको भए हामी अदालतमा पठाइदिन्थ्यौ,’ सरकारी वकिल कार्यालयका एक अधिकारीले भने । उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले मुद्दा प्रक्रिया अघि बढाएको थियो ।

तर, प्रहरीको कमजोर अनुसन्धान र चलखेलका कारण मुद्दा नै नचली छुटेका छन् । यसले प्रहरीकै कद घटेको छ भने अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बस्नेतको अप्रेसन पनि फेल खाएको छ । गुण्डा अप्रेसनका नाममा केही ‘टोले’लाई पक्राउ गरेर अन्यलाई भने तर्साएको मात्र आरोप पनि लागेको छ । गुण्डा नाइकेहरूमाथि प्रहरीले अनुसन्धान गर्न सकेको छैन ।

यसअघि गुण्डागर्दीमा रहेकाहरू अहिले सामाजिक काममा लागेको भन्दै ठेक्कापट्टामा संलग्न भएका छन् । कतिपय गुण्डाहरू अहिले देश बाहिर रहेका छन् । पक्राउ परेकाहरूको पृष्ठभूमि गुण्डागर्दीमा नदेखिएका भएपनि प्रहरीले पक्राउ गरेर तर्साएको आरोप लागेको छ । यसबाट एसएसपी बस्नेतलाई काम गर्ने भन्दा पनि प्रचार गर्ने भोक जागेको हो कि भन्ने अनुमान गरिएको छ ।

साथै अर्कोतिर मुद्धा चलाउने अधिकारी उपत्यका अनुसन्धान कार्यालयलाई नभएकाले काठमाडौँ परिसरले उनीहरूको प्रमाण संकलनमा कमजोरी देखाएको हो कि भन्ने अनुमान पनि गरिएको छ । यदि, काठमाडौँ परिसरले यसो गरेमा दुई निकायबिच समन्वय अभाव भएको बुझ्न सकिने सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार १४:१८

लोकप्रिय