बाँकेमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न निकुञ्जले विभिन्न काम गरिरहेको छ । त्यसै क्रममा निकुञ्जमा पर्यटक भित्र्याउन बाँके निकुञ्ज नजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्याफ्टिङका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले अगैया क्षेत्रमा राप्ती नदीमा बोटिङ र र्याफ्टिङको राम्रो व्यवस्था मिलाउने हो भने ठुलो सङ्ख्यामा भारतीय र नेपाली पर्यटक आकर्षित गर्न सकिने र निकुञ्जमा समेत लैजान सकिने गरी सम्भाव्यता अध्ययन सुरु गरिएको बताए ।
कँडेलले भने, ‘कुसुमबाट अगैया र अगैयाबाट मधुईसम्म मात्रै बोटिङ गराउन खोजिरहेका छौँ तर अहिले पानी कम भएको पायौँ । पानीको सतह बढेपछि सुरु गर्ने गरी अध्ययन गरिरहेका छौँ ।’ यसअघि पनि अगैया क्षेत्रमा बोटिङ र र्याफ्टिङको परीक्षण गरिएको र सो परीक्षण सफल भएकाले बोटिङ र र्याफ्टिङ सुरु गर्न कुनै समस्या नरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
सोही प्रकारले निकुञ्जमा पर्यटक आकर्षित गर्न निकुञ्जको गिद्धेनी चौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीको समेत व्यवस्था गरिएको संरक्षण अधिकृत कँडेलको भनाइ छ । उनले ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउन सके पर्यटन प्रवर्धनमा थप सघाउ पुग्ने पनि बताए ।
उनका अनुसार निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारी, चुरे हाइकिङ लगायत गतिविधि खुला गरिएको छ । पर्यटक हिँड्न २०० किलोमिटर वनपथ, वन्यजन्तु हेर्न मचान निर्माण भइसकेको छ । बाँकेका पर्यटन व्यवसायी कृष्णलाल चौधरीले चिसापानी गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जानकारी दिँदै यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम भइरहेको उल्लेख गरे ।
गाभरको आसपासमा निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि आन्तरिक पर्यटकको प्रमुख आकर्षणको थलो बनेको छ । सडक तथा हवाईमार्गसँग प्रत्यक्ष जोडिएको यो निकुञ्ज २०६७ सालमा स्थापना भएको थियो । निकुञ्जभित्र ३४ किसिमका स्तनधारी, तीन सय किसिमका पन्छी, २४ किसिमका घस्रने जनावर र ५५ भन्दा बढी प्रजातिका माछा रहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके